भ्रष्टाचार मुद्दापछि कैलालीका प्रहरी इन्स्पेक्टर पन्त निलम्बित
धनगढीः कैलालीमा कार्यरत एक प्रहरी इन्स्पेक्टर भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बनमा परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका इन्स्पेक्टर पुष्करराज पन्त स्वतः निलम्बनमा परेका हुन्।
सवारी चालक अनुमतिपत्र वितरणका क्रममा घुस लेनदेन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पन्तसहित ३३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यातायात व्यवस्था कार्यालय बाँकेमा भएको अनियमितताबारे अनुसन्धान गर्दा चार ट्राफिक प्रहरीसहित उक्त संख्यामा प्रतिवादी बनाइएको हो।
पन्त जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रमुख रहेका थिए। उनले लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी गैरकानुनी लाभ लिएको आरोप छ। सोही प्रकरणमा प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्य, नन्दकुमार पोखरेल तथा न्यू मामा भाञ्जा मोटर ड्राइभिङ्ग ट्रेनिङ सेन्टरका सञ्चालक शरदकुमार गोराथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
अनुसन्धानका क्रममा यातायात व्यवस्था कार्यालय बाँकेका कम्प्युटर अधिकृत शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, सञ्चालक गोराथोकी तथा तत्कालीन नायव सुब्बा मुकुन्दराज केसीलाई पक्राउ गरी छानबिन गरिएको थियो। उनीहरूबीच मिलेमतोमा घुस असुली गरी परीक्षार्थीलाई उत्तीर्ण गराइएको प्रमाण फेला परेको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार विभिन्न वर्गका २७ हजार ७७३ सवारी चालक अनुमतिपत्र उनीहरूको कार्यकालमा जारी भएका थिए। लाइसेन्सको वर्गअनुसार १० हजारदेखि २४ हजार रुपैयाँसम्म दररेट कायम गरी रकम असुल गरिएको र कुल ८ करोड ४ लाख ३४ हजार ३०० रुपैयाँ गैरकानुनी रूपमा संकलन भएको ठहर गरिएको छ।
यस प्रकरणमा केही प्रतिवादीमाथि ठूलो परिमाणमा बिगो कायम गरिएको छ। साथै हाल लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुंगाना र लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारसमेत मुछिएका छन्।
यातायात व्यवस्था कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यालय प्रमुख हुँदा उनीहरू समेतको मिलेमतोमा भ्रष्टाचार भएको आरोप अख्तियारले लगाएको छ। भारतीय चोरीका तीन सवारी साधन दर्ता प्रकरणबाट सुरु भएको उजुरीको अनुसन्धानक्रममा व्यापक अनियमितता फेला परेको दाबी गरिएको छ।
उक्त प्रकरणमा विभिन्न पदका सरकारी कर्मचारी तथा अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै मुद्दा अदालतमा दर्ता गरिएको छ।