सुदूरपश्चिमका अधुरा आयोजना पूरा गर्न उम्मेदवारी दिएको लेखराज भट्टको दाबी
धनगढीः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव तथा कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्टले सुदूरपश्चिमका महत्वपूर्ण तथा अधुरा आयोजनालाई पूर्णता दिन आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
बिहीबार कैलालीको अत्तरियामा प्रेस चौतारीले आयोजना गरेको उम्मेदवार कार्यक्रममा बोल्दै भट्टले आफ्नो उम्मेदवारी कैलालीमा सीमित नभई समग्र सुदूरपश्चिम र राष्ट्रकै हितका लागि भएको स्पष्ट पारे।
उनले दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक तथा लालपुर–हरैया विशेष आर्थिक क्षेत्र निर्माण जस्ता सुदूरपश्चिमको भविष्यसँग प्रत्यक्ष जोडिएका योजनाहरूलाई अघि बढाउन आफू सक्षम रहेको दाबी गरे।
उनका अनुसार आफ्नो कार्यकालमा सुरु भएका धेरै योजना अहिले सुस्त वा अलपत्र अवस्थामा रहेका छन्। ती योजनालाई सम्पन्न गरी प्रदेशको समग्र विकास र स्वरूप परिवर्तन गर्न आफूलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो। सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउनु आफ्नो पहिलो प्राथमिकता रहेको उनले उल्लेख गरे।
यसअघि कैलाली–४ बाट निर्वाचित भई मन्त्रीसमेत बनेका भट्टले आफ्नो कार्यकालमा सुदूरपश्चिममा थुप्रै विकास निर्माणका काम अघि बढाएको बताए।
एमालेले गरेका उपलब्धि र सकारात्मक कार्यहरू जनतासमक्ष पु¥याउन घरदैलो अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले प्रदेशको राजधानी गोदावरीमा सार्ने निर्णय लामो अध्ययन र छलफलपछि दुई तिहाइ प्रदेशसभाबाट पारित भएको स्मरण गराए। उक्त निर्णय कार्यान्वयन हुन नदिन विभिन्न प्रयास भएको दाबी गर्दै अब प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको उनले बताए।
आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै भट्टले राष्ट्र र राष्ट्रियता जोगाउने क्षमता एमालेसँग मात्रै रहेको उल्लेख गरे।