सुदूरपश्चिममा १० सिट जित्ने काँग्रेसको विश्लेषण
धनगढीः फागुन २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसले सुदूरपश्चिमका १६ मध्ये १० सिटमा जित हासिल गर्ने आन्तरिक विश्लेषण गरेको छ। २०७९ मा आठ सिटमा जित निकालेको काँग्रेसले यो पटक १० सिट जित्ने अनुमान गरेको हो।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसले सुदूरपश्चिमका १६ मध्ये नौ सिटमा मात्रै उम्मेदवार उठाएको थियो। माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर चुनाव लडेको काँग्रेसले लडेका नौमध्ये आठ सिटमा जित निकाल्न सफल भयो। काँग्रेस उम्मेदवार कैलाली– ४ र ५, कञ्चनपुर– २ र ३, अछाम– २, डडेल्धुरा, दार्चुला र बाजुरामा जित निकाल्न सफल भएका थिए। सुदूरपश्चिममा काँग्रेसबाट उम्मेदवार बनेर पराजित भएका एक मात्र उम्मेदवार थिए, रामजनम चौधरी। उनी कैलाली– १ मा नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ चौधरीसँग पराजित भएका थिए।
तीन वर्षअघिको निर्वाचनमा नौ क्षेत्रमा चुनाव लडेर आठ सिट जित्दै प्रदेशमा पहिलो दल बनेको काँग्रेसले यो पटक भने १६ वटै क्षेत्रमा उम्मेदवार उतारेको छ। तर, २०७९ सालको निर्वाचन जित्ने आठमध्ये नारायणप्रकाश साउँद र पुष्पबहादुर शाहले मात्रै काँग्रेसबाट टिकट पाएका छन्। अन्य १४ उम्मेदवार नयाँ हुन्। नयाँ अनुहारबाट काँग्रेसको अवस्था सुधार हुनेमा नेापाली काँग्रेस आशावादी बनेको छ।
यसपटक सबै क्षेत्रमा उम्मेदवार भएका कारण सिट थप हुने दाबी काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका एक नेताले दाबी गरे। ‘हामी कम्तिमा पनि १० सिट जित्छौँ,’ उनले भने। ती नेताका अनुसार कैलाली १, ४ र ५, कञ्चनपुर २ र ३, अछाम– १, डडेल्धुरा, बाजुरा, डोटी र बैतडीमा काँग्रेस उम्मेदवारको जित सुनिश्चित छ। यस्तै, कैलाली २ र ३, कञ्चनपुर– १ अछाम– २ तथा बझाङमा पनि चुनावी माहोल राम्रो रहेको काँग्रेसको आन्तरिक विश्लेषण छ।