सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा रास्वपा विरुद्ध प्रतिकारमा उत्रने एमालेको चेतावनी

२०८२ फाल्गुन १४, ०४:२७ खबर संवाददाता

धनगढीः बुधबार राति पौने ८ बजे बैतडीको डिलासैनी गाउँपालिकामा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच झडप भयो। डिलासैनी गाउँपालिका–७ मल्लालेक टोलमा भएको झडपमा दुबैतर्फका तीन जना घाइते भए। सोही ठाउँका जनक धामी, माधव धामी र लालसिंह धामी घाइते भएका थिए।

घाइतेमध्ये जनक र माधव एमालेका कार्यकर्ता हुन् भने लालसिंह रास्वपाको डिलासैनी– ७ का वडा सभपाति हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार एमालेका दुई जना घाइते कार्यकर्ताको धनगढीमा उपचार भइरहेको छ भने ललितसिंहको बैतडीमा उपचार भइरहेको छ।

‘चुनावको घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच झडप भएको खुलेको छ,घटनाको अनुसन्धानका लागि पाँच जनालाई नियन्त्रणमा लिएका छौँ। सोधपुछ भइरहेको छ,’ प्रहरी निरीक्षक सिंहले भने। प्रहरीका अनुसार पक्राउ परेका पाँचै जना रास्वपाका कार्यकर्ता हुन्।
एमालेका भने कुनै पनि कार्यकर्तालाई पक्राउ गरिएको छैन। 

बैतडीमा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार छन्। दुबै जना नाताले दाजुभाइ पर्ने पाटन नगरपालिको एकै गाउँका हुन्। उनीहरुको घर पाटन नगरपालिका वडा नम्बर ६ मा छ। दुबै भण्डारीको घर दुई मिनेटको दूरीमा छ। बुधबार रातिको झडपपछि भने एमाले र रास्वपा एकअर्कामाथि आरोपप्रत्यारोप लगाइरहेका छन्। 

एमालेले भने प्रतिकारमा उत्रिने चेतावनी नै दिएको छ। राष्ट्रिय युवा संघ बैतडीका अध्यक्ष यज्ञराज भट्टले चेतावनी पत्र जारी गर्दै रास्वपा समयमै सचेत र सजग नभएमा ‘इटको जवाफ पत्थरले भनेझै जवाफी प्रतिकारमा उत्रन बाध्य हुनेछ’ भनेका छन्।

उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको घरदैलो कार्यक्रम भइरहेको समयममा रास्वपाका कार्यकर्ताले सांङ्घातिक हमला गरेका थिए। ‘तत्काल अपराधिक घटनामा संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय युवा संघ नेपाल प्रशासन समक्ष अनुरोध गर्दछ,’ भट्टले भनेका छन्, ‘रास्वपा को नाममा गाउँ–घरमा अराजक गतिविधि गर्ने, चरित्र हत्या गर्ने र सामाजिक संजालमा एमाले र एमालेका नेता–कार्यकर्ताविरुद्ध अफवाह फैलाउने तथा मानमर्दन गर्ने शक्ति, समूह र व्यक्तिहरु समयमै सचेत र सजग नभएमा राष्ट्रिय युवा संघ नेपाल इटको जवाफ पत्थरले भनेझै जवाफी प्रतिकारमा उत्रन बाध्य हुनेछ।’

यता रास्वपाले भने एमालेले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ। ‘डिलासैनी गाउँपालिका– ७ मल्लालेकमा चुनाव प्रचारका क्रममा मोटरसाइकलमा सवार रास्वपाका वडा सभापति लालसिंह धामी र सदस्य लोकेन्द्र धामीमाथि दर्जनौंको संख्यामा जिपमा सवार एमालेका कार्यकर्ताबाट भएको कायरतापूर्ण आक्रमणप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपा बैतडीका सभापति भीम नाथले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो घटनाको यथाशीघ्र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न हामी माग गर्दछौं।’ शान्तिपूर्ण प्रचारमाथि हमला भएको भन्दै नाथले लोकतन्त्रमाथि नै एमालेले आक्रमण गरेको आरोप लगाएका छन्। ‘विचारसँग प्रतिस्पर्धा गर्न नसक्नेहरूले हिंसाको बाटो रोज्नु लोकतान्त्रिक पराजयको प्रमाण हो,’ नाथले भने, ‘दोषीमाथि तत्काल कारबाही भएन भने हामी सबै कानुनी तथा राजनीतिक संघर्षका उपाय अपनाउन बाध्य हुनेछौँ।’
 

कमेन्ट लोड गर्नुस