गौरीघाट सामुदायिक वन फँडानीमा समितिकै पदाधिकारी मुछिए, १० जनाविरुद्ध मुद्दा तयारी
कञ्चनपुरः कृष्णपुर नगरपालिका–७ कलुवापुरस्थित गौरीघाट सामुदायिक वन मा भएको व्यापक वन फँडानी प्रकरणमा समितिकै पदाधिकारी र सदस्यको संलग्नता देखिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर ले गरेको अनुसन्धानबाट अध्यक्षसहित कार्यसमितिका १० जनाविरुद्ध मुद्दा चलाउने तयारी गरिएको जनाएको छ। अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुर मा बुझाइएको छ।
सब डिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहका अनुसार सबै पदाधिकारी र सदस्यसँग सोधपुछ, स्थलगत अवलोकन तथा बयान लिएर मिसिल तयार गरी सरकारी वकिलको कार्यालयमा पेश गरिएको हो। स्थानीय जनप्रतिनिधिसँग समेत छलफल गरिएको उनले बताए।
मंसिर दोस्रो साता बस्तीको बीचमा रहेको करिब १० हेक्टर क्षेत्रफलको सामुदायिक वन डेढ घण्टामै सखाप पारिएको थियो। सिसौ र खयरका रुखले भरिएको वन क्षेत्र अहिले उजाड बनेको छ। अनुसन्धानअनुसार मंसिर ११ गते दिउँसो १ सय ६४ रुख काटिएका थिए।
वन कार्यालयका अनुसार १६ देखि ८४ इन्च मोटाइसम्मका १ सय ३५ खयर, २४ देखि ६४ इन्च मोटाइका २८ सिसौ र १ कञ्जु गरी १ सय ६४ रुख कटान गरिएको पाइएको छ। कटानमध्ये ६१ गोलिया खयर ९१०१।५५ क्युफिट० र ४१ गोलिया सिसौ ९८१।०३ क्युफिट० काठ बरामद गरिएको छ।
वन फँडानीमा संलग्न रहेको आरोपमा १४ लाख ४० हजार ३ सय रुपैयाँ विगो दाबी गरिएको छ। साथै वन ऐनअनुसार विगोको दोब्बर जरिवाना र जनही दुई वर्ष कैद सजायको माग गर्दै मुद्दा प्रक्रिया अघि बढाइएको जनाइएको छ।