बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, दुई घाइते
धनगढी: बैतडीमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।
जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा हिजो साँझ करिब ७ः५० बजे तिर चुनावी घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच विवाद चर्किँदा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका छन्। दुवै जना एमाले कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको गोकुलेश्वर अस्पताल मा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा रास्वपाका पाँच जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
बैतडीमा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।