जोगबुढा नदीमा तटबन्ध बनेपछि कुतियाकवर बस्ती जोखिममुक्त
दोधारा चाँदनी: वर्षौंदेखि बाढीको मार खेप्दै आएको कुतियाकवर बस्ती जोगबुढा नदीमा तटबन्ध निर्माण भएपछि सुरक्षित बनेको छ। दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा ८१६ मिटर लामो तटबन्ध निर्माण भएसँगै स्थानीयले बाढी र डुबानको त्रासबाट राहत महसुस गरेका छन्।
पूर्वमा महाकाली नदी र उत्तरमा जोगबुढा नदी को दोसाँधमा रहेको यो बस्ती हरेक वर्ष वर्षायाममा डुबान र कटानबाट प्रभावित हुँदै आएको थियो। नदीको कटानका कारण विगतमा बिघौँ जग्गा महाकालीमा समाहित भएको स्थानीय खडक बुढाले बताए। उनका अनुसार तटबन्ध निर्माणपछि वर्षायाममा अन्यत्र बसाइ सर्नुपर्ने बाध्यता हटेको छ।
वडाध्यक्ष चन्द्रबहादुर सिंहले तटबन्धले बस्तीलाई सुरक्षित बनाएको र आगामी दिनमा अन्य स्थानमा पनि यस्ता संरचना निर्माण हुँदै गएको जानकारी दिए। उनका अनुसार महाकाली नदीतर्फ करिब ४०० मिटर क्षेत्रमा अझै तटबन्ध आवश्यक छ।
गत आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगर मार्फत रु ५ करोड १६ लाख ६७ हजार लागतमा शंकर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरी तटबन्ध निर्माण गरिएको हो। सम्झौताअनुसार २०८२ चैत २५ भित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
आयोजनाका प्रमुख रञ्जनराज भट्टराईका अनुसार कञ्चनपुरका महाकाली, जोगबुढा र दोदा नदी तथा कैलालीको मोहना–कुटिया क्षेत्रमा समेत नदी नियन्त्रणका काम भइरहेको छ। तर स्रोत अभावका कारण केही योजनामा करिब रु १० करोड बजेट अपुग रहेको उनले बताए।
विसं २०२२ सालदेखि बसोबास रहेको कुतियाकवरमा डेढ सय परिवार बसोबास गर्दै आएका थिए। नदी कटान बढेपछि करिब १०० परिवार विस्थापित भइसकेका छन्। तटबन्ध निर्माणपछि अब पलायन रोकिने अपेक्षा स्थानीयको छ।
यस्तै, दोधारा चाँदनी सुक्खा बन्दरगाह क्षेत्रमा महाकाली नदी किनारमा छ लेनको पक्की सडक निर्माण भए पनि पुराना तटबन्ध मर्मतका लागि आवश्यक बजेट अभाव रहेको जनाइएको छ।