कैलाली बहुमुखी क्याम्पसमा प्रविधिमैत्री अभ्यास शिक्षणबारे विद्यालयका प्रधानाध्यापकहरूसंग अन्तरक्रिया
धनगढीः कैलाली बहुमुखी क्याम्पसको अभ्यास शिक्षण समितिको आयोजनामा धनगढी उपमहानगरपालिका र आसपासका क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरूसँग पेशागत स्नातक तह (पी. बिएड) को अभ्यास शिक्षणमा प्रविधिमैत्री शिक्षण र कलाको विकास विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
मङ्गलबार सम्पन्न उक्त कार्यक्रममा अभ्यास शिक्षण समितिका संयोजक उपप्राध्यापक डा। मानबहादुर जोराले अभ्यास शिक्षणलाई कक्षा कोठामा सीमित नराखी डिजिटल प्रविधि, सिर्जनात्मक कला र व्यवहारिक सिकाइसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। उनले विद्यालय र क्याम्पसबीच समन्वय बलियो भए विद्यार्थीहरू भविष्यका दक्ष शिक्षक बन्न सहयोग पुग्ने बताए।
क्याम्पस प्रमुख सहप्राध्यापक डा। लोकबहादुर बिष्टले विद्यार्थीहरूको पेशागत विकासका लागि विद्यालयहरूसँग औपचारिक सम्झौता ९एमओयू० गरेर दीर्घकालीन सहकार्यमा अघि बढ्ने स्पष्ट पारे। “एमओयूले अभ्यास शिक्षणलाई व्यवस्थित बनाउने, विद्यालयको आवश्यकता अनुसार विद्यार्थीलाई तयार पार्ने र दुवै पक्षलाई लाभ पुग्ने वातावरण बनाउँछ,” उनले भने।
अन्तरक्रियामा सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले अभ्यास शिक्षणका क्रममा विद्यार्थी शिक्षकहरूलाई कक्षा व्यवस्थापन, प्रविधिको प्रयोग, विद्यार्थी–केन्द्रित शिक्षण विधि र सह–पाठ्यक्रम गतिविधिमा थप अवसर दिनुपर्ने सुझाव दिए। उनीहरूले क्याम्पस–विद्यालय सहकार्यबाट स्थानीय विद्यालयको शैक्षिक गुणस्तर उकास्न सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा अभ्यास शिक्षणका चुनौती, मूल्यांकन प्रणाली, प्रविधिको प्रयोगमार्फत सिकाइ प्रभावकारी बनाउने उपाय तथा कलामैत्री शिक्षणले विद्यार्थीको सिर्जनशीलता कसरी विकास गर्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो।
डा। जोराका अनुसार यस्ता अन्तरक्रियाले अभ्यास शिक्षणलाई समयसापेक्ष बनाउँदै शैक्षिक सुधारमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।