सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा निर्वाचन तयारी तीव्र, एक हजार २८८ कर्मचारी परिचालन हुने

२०८२ फाल्गुन १२, १२:०४ खबर संवाददाता

बैतडीः फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी चुनावी तयारीमा व्यस्त बनेको छ। लोकतन्त्रको महोत्सवलाई निष्पक्ष र व्यवस्थित बनाउन यहाँ एक हजार दुई सय ८८ जना कर्मचारी खटाइने भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि खटिने कर्मचारीहरूको अन्तिम सूची प्रकाशन गरिसकेको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए। उनका अनुसार खटाइएका कर्मचारीलाई फागुन १५ र १६ गते आवश्यक तालिम प्रदान गरिनेछ। तालिम सम्पन्न भएपछि उनीहरू आ–आफ्ना मतदान केन्द्रतर्फ प्रस्थान गर्नेछन्।

मतदाताको सङ्ख्याका आधारमा कर्मचारी व्यवस्थापन गरिएको छ। पाँच सयभन्दा बढी मतदाता रहेका केन्द्रमा ६ जना, पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा ५ जना र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दुर्गम भूगोलका कारण चुनौतीपूर्ण मानिने बैतडीमा मतदान प्रक्रियालाई सहज बनाउन यस व्यवस्थापनले सघाउने अपेक्षा गरिएको छ। निर्वाचनमा खटिने कर्मचारीहरूको प्रारम्भिक सूची फागुन ७ गते सार्वजनिक गरिएको थियो भने आइतबार उक्त सूचीलाई अन्तिम रूप दिइएको सहायक निर्वाचन कार्यालयले जनाएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई सय १४ वटा मतदान केन्द्र रहेका छन्।

आवश्यक मतपत्र र अन्य निर्वाचन सामग्री यसअघि नै जिल्लामा आइपुगेका छन्। अहिले जिल्लाभर मतदान केन्द्र व्यवस्थापन, सुरक्षा तयारी तथा कर्मचारी परिचालनको काम तीव्र रूपमा अघि बढिरहेको छ।

लोकतन्त्रको पर्वलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरोकारवाला निकायहरू सक्रिय देखिएका छन्। चुनावी सरगर्मी बढ्दै जाँदा बैतडीका नागरिकमा पनि उत्साह थपिँदै गएको छ।

 

कमेन्ट लोड गर्नुस