सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘शैलेश सिंहलाई जिताऔँ’ भन्दै बझाङ फर्किनेको लर्को

२०८२ फाल्गुन ११, ०४:३३ खबर संवाददाता

धनगढी: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बझाङमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेश सिंहको पक्षमा समर्थन जनाउँदै जिल्लाभित्र र बाहिर रहेका युवाहरू बझाङ फर्किन थालेका छन् ।

शिक्षा, रोजगारी तथा व्यवसायका सिलसिलामा जिल्ला बाहिर रहेका बझाङका मतदाताहरू पछिल्लो समय क्रमशः गृहजिल्ला फर्किएको स्थानीय स्रोतले जनाएको छ । भारत तथा अन्य तेस्रो मुलुकमा रहेका केही युवाहरू समेत सिंहलाई मतदान गर्न भन्दै बझाङ आएको बताइएको छ ।

यही क्रममा कैलालीबाट पनि युवाहरूको ठूलो समूह बझाङतर्फ प्रस्थान गरेको छ । सिंहको पक्षमा मतदान अभियानमा सक्रिय हुने उद्देश्यसहित उनीहरू गृहजिल्ला पुगेका हुन् ।

स्थानीयस्तरमा युवाहरूको यस्तो सक्रिय सहभागितालाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ । नयाँ नेतृत्वप्रतिको अपेक्षा, परिवर्तनको चाहना र स्वतन्त्र सोचका कारण युवाहरू एकजुट भएको उनीहरूको भनाइ छ ।

बझाङमा निर्वाचन केवल उम्मेदवारबीचको प्रतिस्पर्धामा सीमित नरही युवाहरूको उल्लेख्य उपस्थितिका कारण उत्सवमय बन्दै गएको देखिन्छ । यद्यपि, यो सक्रियता अन्ततः मतपत्रमा कति रूपान्तरित हुन्छ भन्ने विषय निर्वाचन परिणामपछि मात्र स्पष्ट हुने देखिन्छ ।

 

 

कमेन्ट लोड गर्नुस