पाकिस्तानको हवाई आक्रमणमा कम्तिमा २० जना अफगानी नागरिकको मृत्यु
काठमाडौंः पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। अफगानिस्तानका पूर्वी प्रान्त नान्घार प्रान्त र दक्षिणपूर्वी प्रान्त पक्तिका प्रान्तमा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन्। विशेष गरी नान्घारमा घरमाथि भएको आक्रमणमा २० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ भने पक्तिका प्रान्तमा एक मदरसामाथि लक्षित हवाई आक्रमण भएको जनाइएको छ।
पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयका अनुसार गोप्य सूचनाको आधारमा सीमा क्षेत्रमा ‘आतंकवादी बसेको स्थान’लाई लक्षित गर्दै कारबाही गरिएको हो। पाकिस्तानले तेहरिक(आई(तालिबान पाकिस्तान ९टीटीपी० र उसका सहयोगी समूह तथा इस्लामिक स्टेट खोरसान प्रोभिन्स ९आईएसकेपी०सँग सम्बद्ध स्थानमा आक्रमण गरिएको दाबी गरेको छ। उनका अनुसार हालै पाकिस्तानमा भएका आत्मघाती हमलामा यी समूहको संलग्नता देखिएपछि जवाफस्वरूप यो कारबाही गरिएको हो।
पाकिस्तानले पटक–पटक अफगान तालिबान सरकारलाई यस्ता ‘आतंकवादी’ समूहविरुद्ध कडा कदम चाल्न आग्रह गरेको भए पनि प्रभावकारी कारबाही नभएको आरोप लगाएको छ।
अफगानिस्तानको सत्तारुढ तालिबान सरकारले भने पाकिस्तानी आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारणको ज्यान गएको भन्दै उचित समयमा जवाफ दिने चेतावनी दिएको छ।