रौतहटको गौरमा सद्भाव र्याली
रौतहटः रौतहटको गौरमा आज बिहान सद्भाव र्याली निकालिएको छ। सामाजिक सद्भाव बिथोल्ने गरी भएको झडप र तोडफोडको घटनापछि रौतहटको सदरमुकाम गौरमा आज सद्भाव र्याली निकालिएको हो। जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ः३० बजेदेखि कर्फ्यू आदेश हटाएको जनाएको छ।
कर्फ्यू हटेसँगै स्थानीयवासीको दैनिकी क्रमशः सामान्य बन्दै गएको छ। बजार, यातायात तथा शैक्षिक संस्था सञ्चालनतर्फ उन्मुख भएका छन्। सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले र्याली निकालिएको हो। गौर नगरपालिका–६ स्थित सव्गढाहाबाट सुरु भएको र्यालीले नगरका सपगढा गाउँका विभिन्न भागको परिक्रमा गरेको थियो।
र्यालीमा हिन्दू तथा मुस्लिम समुदायका अगुवा, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेका थिए सद्भाव र्यालिमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग सहयोग गर्न आग्रह गरे। प्रशासनले कुनै पनि प्रकारका अफवाह र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन पनि सर्वसाधारणलाई सचेत गराएको छ। कर्फ्यू हटाइएपछि गौर क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।