अछामी जनताले शासक होइन, सेवक रोज्नेछन्: एमाले उम्मेदवार दिपक साउँद
अछामः नेकपा एमाले अछाम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपक साउँदले आगामी निर्वाचनमा अछामी जनताले शासक प्रवृत्तिका नेता होइन, जनताको सेवामा समर्पित प्रतिनिधि चयन गर्ने दाबी गरेका छन्।
मेल्लेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतमा अछामी जनताको मतलाई सत्तामा पुग्ने भर्याङका रूपमा प्रयोग गरिएको आरोप लगाए। पटक–पटक जनताको विश्वास जितेर सरकारमा पुगेका नेताहरूले जिल्लाको विकासमा उल्लेखनीय योगदान नगरेको उनको भनाइ थियो। 'जनताको मत लिएर सत्तामा पुग्ने तर जनतामाथि नै शासक बन्ने दिन अब समाप्त भएका छन्,' उनले भने, 'यसपटक अछामी जनताले सही निर्णय गर्नेछन्।'
साउँदले अछामको पछाडिपनको कारण भूगोल र विकटता मात्र नभई नेतृत्वको कमजोरी र नियत भएको दाबी गरे। अछामको वास्तविक अवस्था नबुझ्ने र यहाँको माटोको पीडा अनुभव नगर्ने व्यक्तिहरू नेतृत्वमा पुग्दा समस्या ज्यूँका त्यूँ रहेको उनको तर्क थियो।
आफू कुनै लाभको पदमा नरहे पनि सधैं अछामी जनताको सुख–दुःखमा साथ दिँदै आएको उनले उल्लेख गरे। अछामको भौगोलिक कठिनाइ र अभावलाई नजिकबाट भोगेको व्यक्तिका रूपमा आफूले जिल्लाको वास्तविक समस्या राम्रोसँग बुझेको उनले बताए।
आफू अछामको आवाज बोल्न सक्ने र जनताको अपेक्षा पूरा गर्न सक्ने उम्मेदवार भएको दाबी गर्दै साउँदले जनताले यसपटक आफूलाई सेवकका रूपमा अनुमोदन गर्ने विश्वास व्यक्त गरे।