७७ जिल्लामा ‘मार्सल टोली’ परिचालन, टीकापुर र बाजुरा विशेष निगरानीमा
धनगढी: आसन्न निर्वाचनलाई लक्षित गर्दै संयुक्त सुरक्षा फौजले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लामा एसपीरडीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरेको जनाएको छ।
सुरक्षाको दृष्टिले सादा पोसाकमा ‘मार्सल टोली’ समेत परिचालन गरिएको छ। प्रहरीका अनुसार संवेदनशील र अतिसंवेदनशील मानिएका निर्वाचन क्षेत्रमा तीन वटासम्म केन्द्रीय टोली खटाइएको छ भने अन्य क्षेत्रमा एक–एक टोली परिचालन गरिएको छ।
सुरक्षा समन्वयका लागि गृह मन्त्रालयले यसअघि नै सुदूरपश्चिम प्रदेशमा सहसचिव खटाइसकेको छ। सुरक्षा स्रोतका अनुसार कैलाली–१ ९टीकापुर क्षेत्र० र बाजुरा जिल्लालाई विशेष निगरानीमा राखिएको छ। बाजुरा हरेक निर्वाचनमा झडप तथा हिंसात्मक घटनाका कारण संवेदनशील जिल्ला मानिन्छ भने टीकापुर क्षेत्र २०७२ सालको घटनापछि अझै पनि संवेदनशील सूचीमा रहेको छ।
यसैबीच, सशस्त्र प्रहरी बल नेपालले एसएसपीको नेतृत्वमा २३ छुट्टाछुट्टै टोली परिचालन गरेको छ। प्रत्येक टोलीलाई तीनदेखि चार जिल्लाको जिम्मेवारी दिइएको छ। टोलीलाई ‘एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना–२०८२’को कार्यान्वयन अवस्था, सुरक्षा विश्लेषण, अनुगमन, नियमन, फिल्डमा देखिएका चुनौती तथा सुधारका उपायसहित केन्द्रमा प्रतिवेदन बुझाउन र स्थानीय तहमा समन्वय गर्न निर्देशन दिइएको जनाइएको छ।