सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पार्टी छाड्ने र जोडिने क्रम बढ्यो, एमाले र काँग्रेसको आफ्नै जोड घटाऊ

२०८२ फाल्गुन ११, ११:२९ खबर संवाददाता

बैतडीः निर्वाचन नजिकिँदै जाँदा नेकपा र नेपाली काँग्रेसका प्रभावशाली नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन्। नेकपाका केन्द्रीय सदस्य दलबहादुर धामी र दिपेन्द्र कुँवर तथा नेपाली काँग्रेसका प्रदेश समिति सदस्य जनक बिष्टसहितका नेताहरूले पार्टी छाडेर नेकपा एमालेको चुनावी अभियानमा सहभागिता जनाएका हुन्।

पुरचौंडी क्षेत्रमा प्रभाव राख्ने यी नेताहरूको प्रवेशसँगै काँग्रेस र नेकपाका थप २ सय १४ जना स्थानीय कार्यकर्ताले पनि पार्टी त्यागेको एमालेको दाबी छ। तीमध्ये १ सय ६२ जनाको नामावली सार्वजनिक गरिएको बताइएको छ। एमाले उम्मेदवार दामोदर भण्डारीले आफ्नो पहिलो चुनावी सभामार्फत उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

यसअघि घरदैलो अभियानमा व्यस्त भण्डारीले पुरचौंडीबाट औपचारिक रूपमा चुनावी सभा सुरु गरेका थिए। उक्त सभामा नेकपाका केन्द्रीय तहका नेता र काँग्रेसका प्रभावशाली युवाहरू एमालेमा प्रवेश गरेपछि भण्डारी उत्साहित देखिएका छन्। लगातार तीन पटक चुनाव जितिसकेका उनले यसपटक पनि आफू विजयी हुने दाबी गर्दै भने, 'एमाले एक्लैसँग जितका लागि पर्याप्त मत छ, अन्य पार्टीबाट समर्थन थपिएपछि चौथो जित अझ सहज बन्दै गएको छ।'

गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले २९ हजार मत प्राप्त गरेको थियो भने काँग्रेसले २४ हजार मत पाएको थियो। काँग्रेसभित्र तल्लो तहसम्म देखिएको असन्तुष्टि र आन्तरिक विवादले एमालेलाई फाइदा पुग्ने एमाले नेताहरूको भनाइ छ। एमालेका केन्द्रीय सदस्य गोविन्द गिरीले भने, 'हामी पहिले नै अगाडि छौँ, काँग्रेसभित्रको आन्तरिक टकरावले झन् सहज बनाएको छ।'

काँग्रेसको प्रतिदाबी: चतुरको पक्षमा जनसमर्थन
यता नेपाली काँग्रेसले भने आफ्ना उम्मेदवार चतुरबहादुर चन्द पहिलो पटक चुनावी मैदानमा उत्रिएकाले मतदाताबाट सकारात्मक समर्थन पाउने दाबी गरेको छ। लामो समयदेखि दोहोरिँदै आएका उम्मेदवारप्रति वाक्क भएका मतदाता नयाँ अनुहारतर्फ आकर्षित हुने काँग्रेसको विश्वास छ। साथै, मेलौली नगरपालिकामा दर्जनौं कार्यकर्ता पार्टीमा प्रवेश गरेको दाबी काँग्रेसले गरेको छ।

एउटै निर्वाचन क्षेत्र रहेको बैतडीमा मुख्य प्रतिस्पर्धा एमाले र काँग्रेसबीच हुने आँकलन गरिएको छ। यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारी, नेकपाका प्रमानन्द भट्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपेन्द्र चन्दले पनि प्रतिस्पर्धालाई रोचक बनाउने अनुमान गरिएको छ।

यो पटक रास्वपाको देशैभर माहोल बनेकाले बैतडीमा पनि आफूले चुनाव जित्ने रास्वपा उम्मेदवार हरिमोहन भण्डारीले बताए। यो पटक बैतडीमा रास्वपाले चुनाव जित्छ, हाम्रो पक्षमा व्यापक जनसमर्थन छ,' उनले भने, 'पुराना पार्टीले जेसुकै गरे पनि यो पटक मतदाताले नयाँलाई मौका दिने बताएका छन्।'

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जिल्लामा राप्रपाले जनसमर्थन प्राप्त गरेको दाबी गरेको छ। यो पटक जिल्लामा राप्रपाले इतिहास कायम गर्ने राप्रपाले बताउँदै आएको छ।

कमेन्ट लोड गर्नुस