कैलाली-५ का उम्मेदवार नर नारायण शाह 'मनु' को चुनावी गीत सार्वजनिक
धनगढीः कैलाली क्षेत्र नम्बर ५ का नेपाली काग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नर नारायण शाह ‘मनु’ को आधिकारिक चुनावी गीत सार्वजनिक गरिएको छ ।
“युवाको आशा” बोलको गीत सार्वजनिक भएसँगै चुनावी अभियानलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।
गायक गीतकार तथा संगीतकार कमल रेग्मीको रचना तथा संगीतमा तयार भएको गीतमा स्वयम् रेग्मी र राजु चौधरी लगायतका गायक गायिकाको स्वर रहेको छ ।
गीतको कम्पोज र एरेन्ज राजु चौधरीले नै गरेका हुन् । नेपाली र थारु भाषामा मिश्रित रुपमा आधुनिक शैलीमा तयार गरिएको गीतमा युवा पुस्ताको भावना, परिवर्तनको चाहना र विकासप्रतिको आकांक्षा समेटिएको छ ।
उम्मेदवार नर नारायण शाह ‘मनु’ ले युवाको ऊर्जा र सपनालाई केन्द्रमा राखेर गीत निर्माण गरिएको बताउँदै यसले अभियानलाई जनस्तरसम्म पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले चुनावी अभियानलाई सिर्जनात्मक र सकारात्मक बनाउने उद्देश्यले गीत सार्वजनिक गरिएको बताए । गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया आउन थालेका छन् ।
समर्थक तथा स्थानीय युवाहरूले गीतले परिवर्तन र विकासको सन्देश बोकेको बताएका छन् । चुनावी माहोललाई उत्साहपूर्ण बनाउन गीत प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ ।