सुदूरपश्चिममा सिट बढ्ने नेकपाको दाबी, पाँच क्षेत्र जित्ने आन्तरिक आँकलन
धनगढीः आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिट संख्या बढ्ने विश्लेषण नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको छ। पार्टीले देशभरका निर्वाचन परिचालन समितिसँग आन्तरिक चुनावी प्रतिवेदन मागेको र सुदूरपश्चिम प्रदेशमा उल्लेख्य उपलब्धि हासिल हुने निष्कर्ष निकालेको जनाएको छ।
पाँच वर्ष प्रदेश सरकार सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी केन्द्र) ले २०७९ सालको निर्वाचनमा एक सिट पनि जित्न सकेको थिएन। तर नेकपामा समावेश एकीकृत समाजवादी ले प्रतिस्पर्धा गरेका तीनवटै सिट जितेको थियो। त्यस्तै, नेकपामै आबद्ध नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा तीन सिट जितेको थियो।
पार्टीको प्रचार समितिका अनुसार देशभर राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आकर्षण बढ्दो देखिए पनि त्यसले नेकपाको मतमा खास असर नपार्ने आन्तरिक निष्कर्ष निकालिएको छ। बरु अन्य दलहरूको मतमा प्रभाव पर्दा नेकपालाई फाइदा पुग्ने दाबी गरिएको छ।
सुदूरपश्चिममा मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग हुने आकलन गरिएको छ। प्रदेशका १६ मध्ये १४ सिटमा नेकपाका उम्मेदवार प्रतिस्पर्धामा रहेको र त्यसमध्ये कम्तीमा पाँच सिट जित्ने सूचीमा राखिएको नेताहरूले बताएका छन्।
आन्तरिक विश्लेषणमा सहभागी एक नेताका अनुसार माओवादीको परम्परागत मत सुरक्षित रहने, रास्वपाले मत नकट्ने तथा काँग्रेस–एमालेको मत विभाजन हुँदा आफूहरूलाई लाभ पुग्ने अपेक्षा गरिएको छ। उम्मेदवार छनोट प्रक्रिया पनि पार्टीको पक्षमा माहोल बनाउन सहयोगी बनेको दाबी गरिएको छ।