कैलाली–५ मा एमालेका यज्ञराज ढुंगाना: जिल्ला नेतृत्वदेखि संघीय संसद् लक्ष्यसम्म
धनगढीः नेकपा (एमाले) कैलालीका जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन्। पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा पार्टी नेतृत्व सम्हालिरहेका ढुंगानासामु यसपटक दोहोरो चुनौती छ—समग्र जिल्लामा पार्टीलाई मजबुत बनाउने जिम्मेवारी र आफ्नै क्षेत्रमा विजय सुनिश्चित गर्ने दबाब।
६ फागुन २०३६ मा अछामको बान्नीगढी जयगढ गाउँपालिका–सुगाली बाहुन गाउँमा जन्मिएका ढुंगाना पहिलोपटक संसदीय प्रतिस्पर्धामा उत्रिएका हुन्। कैलाली बहुमुखी क्याम्पसबाट अर्थशास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका उनले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए।
२०५४ सालमा अनेरास्ववियुमा आबद्ध भएका उनी प्रारम्भिक कमिटी हुँदै जिल्ला र केन्द्रसम्म पुगे। २०५७ मा अनेरास्ववियु कैलालीको अध्यक्ष बनेका ढुङ्गाना २०६३ मा केन्द्रीय सदस्य निर्वाचित भए। सोही वर्ष उनले कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको जिम्मेवारी पनि सम्हाले।
जिल्ला कमिटी सदस्यदेखि प्रदेश सचिवालय सदस्यसम्मको अनुभव बटुलेका ढुङ्गाना १२ फागुन २०८० मा सम्पन्न एमाले कैलाली जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। प्यानलसहितको प्रतिस्पर्धामा उनले डेजी पाण्डेलाई पराजित गर्दै नेतृत्व हात पारेका थिए। एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनमा कैलाली–५ मा उनको प्यानलले क्लीन स्वीप गर्नुले उनको संगठनात्मक प्रभाव बलियो रहेको संकेत दिएको छ।
चुनावी इतिहास र वर्तमान चुनौती
कैलाली–५ एमालेका लागि अघिल्लो निर्वाचनदेखि चुनौतीपूर्ण क्षेत्र रहँदै आएको छ। २०७४ मा एमालेका नारदमुनि रानाले जिते पनि २०७९ को निर्वाचनमा राना झिनो मतान्तरले पराजित भए। २०७९ मा काँग्रेसका डिल्लीराज पन्तले २१ हजार ३९२ मत ल्याउँदा रानाले २० हजार १३८ मत प्राप्त गरेका थिए। यसपटक रानासहित तीन जनाको नाम सिफारिस भए पनि अन्ततः पार्टीले ढुङ्गानालाई उम्मेदवार बनाएको हो।
२०७९ को स्थानीय तह निर्वाचनअनुसार कैलाली–५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ गरी २१ वडा पर्छन्। समानुपातिक मतपरिणाममा कांग्रेसले १५ हजार ६१७ मत प्राप्त गर्दा एमालेले १४ हजार ३२१ मत ल्याएको थियो, जसले क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाएको देखिन्छ।
युवाको प्रतिनिधित्व र विकासका एजेन्डा
संसदीय राजनीतिमा नयाँ अनुहार भए पनि ढुंगाना धनगढीका स्थापित व्यवसायी हुन्। नवजीवन अस्पताल सञ्चालन, इलेक्ट्रोनिक स्कुटर डिलर तथा स्वास्थ्यसम्बन्धी कलेजमा उनको संलग्नता छ। व्यवसाय र संगठन दुवै क्षेत्रमा सक्रिय रहेका उनी आफूलाई “युवाको प्रतिनिधि”का रूपमा प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाइरहेका छन्।
जिल्ला नेतृत्वबाट संघीय संसद् यात्राको लक्ष्य लिएका ढुंगानाले पार्टीभित्रको एकता, युवाशक्ति परिचालन र आफ्नो संगठनात्मक पकडलाई जितको आधार बनाउने रणनीति अघि सारेका छन्। कैलाली–५ मा यसपटकको प्रतिस्पर्धा प्रतिष्ठाको रूपमा हेरिएको छ।