सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन

२०८२ फाल्गुन ९, ११:०८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा आसन्न निर्वाचनलाई लक्षित गर्दै व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेशका निर्वाचन क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना परिचालन गरिँदै छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार नौवटै जिल्लामा सात हजारभन्दा बढी नेपाल प्रहरी तथा १३ हजार ६६९ जना निर्वाचन प्रहरी खटाइँदै छन्। सुरक्षा संवेदनशीलताको आधारमा मतदान केन्द्रमा जनशक्ति व्यवस्थापन गरिएको छ।

एउटा मात्र निर्वाचनस्थल भएका सामान्य मतदान केन्द्रमा तीन जना नेपाल प्रहरी र पाँच जना निर्वाचन प्रहरी खटिनेछन्। संवेदनशील केन्द्रमा तीन प्रहरी र छ निर्वाचन प्रहरी तथा अतिसंवेदनशील केन्द्रमा तीन प्रहरी र १० जना निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ। थप मतदानस्थल भएका स्थानमा प्रत्येक केन्द्रमा दुई–दुई जनाका दरले अतिरिक्त जनशक्ति खटाइनेछ।

प्रदेशभर एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये चार सय ८१ स्थललाई अतिसंवेदनशील, सात सय ५७ स्थललाई संवेदनशील र नौ सय ८६ स्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ।

अतिसंवेदनशीलसहित चार सय ४५ मतदानस्थलमा सिसी क्यामेरामार्फत निगरानी गरिनेछ। निर्वाचन अवधिभर गाउँपालिका र नगरपालिकामा दुई–दुई तथा उपमहानगरपालिकामा तीनवटा मोबाइल गस्ती टोली परिचालन गरिनेछ भने प्रत्येक जिल्लामा छुट्टै दुई मोबाइल टोली रहनेछन्। आकस्मिक अवस्थाका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने विषयमा केन्द्रसँग समन्वय भइरहेको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस