सुदूरपश्चिमका २४५ मतदान केन्द्रमा सिसी क्यामेराबाट निगरानी
निर्वाचनमा सात हजार नेपाल प्रहरी, एक हजार पाँच सय शसस्त्र प्रहरी र १५ हजार निर्वाचन प्रहरी परिचालन
धनगढी: सुदूरपश्चिम प्रदेशमा आसन्न निर्वाचनलाई लक्षित गर्दै व्यापक सुरक्षा तयारी गरिएको छ। प्रदेशभरका निर्वाचन क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले मातहतका युनिटहरूमा सुरक्षाकर्मी खटाउन सुरु गरेका छन् भने केही मतदान केन्द्रमा सिसी क्यामेरामार्फत निगरानीसमेत गरिने भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार नौवटै जिल्लामा ७ हजार ५८ जना नेपाल प्रहरी परिचालन गरिँदैछन्। अपुग करिब ७ सय जनशक्ति केन्द्रबाट माग गरिएको छ। त्यस्तै, १३ हजार ६६९ जना निर्वाचन प्रहरीसमेत परिचालन गरिएका छन्। फागुन १० गतेभित्र सबै स्थानमा जनशक्ति पुगिसक्ने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए।
सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्र वर्गीकरण गरिएको छ। सामान्य केन्द्रमा ३ जना नेपाल प्रहरी र ५ जना निर्वाचन प्रहरी, संवेदनशील केन्द्रमा ३ प्रहरी र ६ निर्वाचन प्रहरी तथा अतिसंवेदनशील केन्द्रमा ३ प्रहरी र १० जना निर्वाचन प्रहरी खटाइने व्यवस्था गरिएको छ। थप मतदान स्थलमा प्रत्येक केन्द्रमा दुई/दुई जना सुरक्षाकर्मी थपिनेछन्।
प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र निर्धारण गरिएका छन्। तीमध्ये सयौँ स्थललाई संवेदनशील र अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाका अनुसार ४४५ मतदान स्थलमा नेपाल प्रहरीले सिसी क्यामेराबाट प्रत्यक्ष निगरानी गर्नेछ।
निर्वाचन अवधिमा गाउँपालिका र नगरपालिकामा दुई/दुई तथा उपमहानगरमा तीनवटा मोबाइल गस्ती टोली परिचालन गरिनेछ। प्रत्येक जिल्लामा छुट्टै दुई मोबाइल टोली रहने व्यवस्था गरिएको छ। आकस्मिक अवस्थाका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने विषयमा पनि केन्द्रसँग समन्वय भइरहेको जनाइएको छ। मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिनेछन्।
शसस्त्र प्रहरीतर्फ करिब ३ हजार ७ सय जनशक्ति परिचालन गरिँदैछ। शसस्त्र प्रहरीका निमित्त प्रदेश प्रमुख दिग्वीजय सुवेदीका अनुसार १ हजार ५ सय निर्वाचन प्रहरीसहित करिब ५ हजार २ सय सुरक्षाकर्मी परिचालन भएका छन्। प्रत्येक निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली खटाइएको छ।
निर्वाचनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा पनि सुरक्षा सतर्कता बढाइएको छ। विशेषगरी कैलाली र कञ्चनपुर जिल्लामा भारतसँग जोडिएको खुला सीमामा कडा चेकजाँच र निगरानी सुरु गरिएको छ। केही नाकामा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ।
महत्वपूर्ण संरचनाको सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी लिएको छ। प्रदेशका सातवटै जिल्ला कारागार, धनगढी विमानस्थल तथा नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीको सुरक्षा ‘कमाण्ड’ नेपाली सेनाले सम्हालेको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको सुरक्षा निकायले जनाएका छन्।
तराईका दुई जिल्ला कैलालीमा एक सय एक किलोमिटर र कञ्चनपुरमा एक सय २९.५ किलोमिटर खुला सीमाना भारतसँग जोडिएको छ। निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी कडा पारिएको छ।
निर्वाचनमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा दिने छ। विमानस्थल, कारागारजस्ता महत्वपूर्ण र संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ।
सुदूरपश्चिममा रहेका सातवटै जिल्ला कारागार, धनगढी विमानस्थल, नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीको सुरक्षा ‘कमाण्ड’ नेपाली सेनाले लिएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रानाले जानकारी दिए। जेनजी आन्दोलनका बेला कारागारहरुबाट भागेका कैदीबन्दीबाट निर्वाचनको सुरक्षामा खतरा नहोस् भनेर पनि सतर्कता अपनाइएको उनले बताए।