सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे क्षेत्रमा अवैध उत्खनन् गर्दै पाँच जना पक्राउ

२०८२ फाल्गुन ८, ०१:२० खबर संवाददाता

धनगढीः कैलालीको चुरे क्षेत्रअन्तर्गत चुरे गाउँपालिका–४ स्थित अधेरी खोलामा अवैध रूपमा ढुंगा, गिट्टी र माटो उत्खनन् गर्दै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको छ।

डिभिजन वन कार्यालय कैलालीको नियमित गस्ती टोलीले भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरू विभिन्न स्थानका ट्याक्टर, टिप्पर र भ्याकु लोडर चालक रहेका छन्।

घटनास्थलबाट एउटा भ्याकु लोडर, तीन वटा टिप्पर र एक ट्याक्टर बरामद गरिएको छ। अवैध उत्खनन् नियन्त्रणमा लिन सवारीसाधनसहित संलग्न व्यक्तिलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ।

डिभिजनल वन अधिकृत रामविचारी ठाकुरका अनुसार वातावरणीय परीक्षण तथा स्वीकृति बिना नदीजन्य पदार्थ उत्खनन् गर्नु कानुनविपरीत हो। वन ऐनअनुसार यस्ता गतिविधिमा संलग्नलाई बिगोबमोजिम कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उनले स्पष्ट पारे।

यसैबीच, उक्त क्षेत्रमा वन फँडानी र काठ तस्करीसमेत भइरहेको प्रारम्भिक तथ्य फेला परेको जनाइएको छ। चुरे क्षेत्रको संरक्षणका लागि निगरानी कडा पारिएको र दोषीमाथि कडाभन्दा कडा कारबाही गरिने वन कार्यालयले चेतावनी दिएको छ।
 

कमेन्ट लोड गर्नुस