सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रजातन्त्र दिवसमा मुख्यमन्त्री शाहद्वारा सहिद स्मारकमा माल्यार्पण

२०८२ फाल्गुन ७, १०:५२ खबर संवाददाता

धनगढीः कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा धनगढीस्थित सहिद गेटमा रहेका चार महान सहिदको स्मारकमा माल्यार्पण गरेका छन्।

विहीबार आयोजित कार्यक्रममा उनले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा नागरिक अधिकारको संरक्षणका लागि जीवन उत्सर्ग गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा सभामुख, मन्त्री, सांसद, राष्ट्रसेवक कर्मचारी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसअघि फागुन ५ गते मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गरेको थियो। सोहीअनुसार फागुन ७ गते उनको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति, २०८२ गठन गरिएको थियो।

प्रजातन्त्र दिवसका अवसरमा जारी शुभकामना सन्देशमा मुख्यमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। उनले २००७ सालको सफल क्रान्तिबाट १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको उल्लेख गर्दै सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरूको सम्मान गर्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा लोकतन्त्रमा जनता नै मालिक हुने उल्लेख गर्दै लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको बताएका छन्। जेन्जी युवाहरूले उठाएको सुशासन र भ्रष्टाचार अन्त्यको मागको पृष्ठभूमिमा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन लागेको उल्लेख गर्दै उनले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस