सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–२ मा रास्वपाको ‘क्लीन स्वीप’ दाबी: २१ फागुन ऐतिहासिक हुने रविको घोषणा

२०८२ फाल्गुन ६, ०१:२५ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले २१ फागुनको निर्वाचनमा आफ्नो दलले ‘क्लीन स्वीप’ गर्ने दाबी गरेका छन्।

बुधबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा आफ्ना विश्वासपात्र उम्मेदवार दीपक बोहराका पक्षमा मत माग्दै उनले जनलहर आफ्नो पक्षमा स्पष्ट देखिएको बताए। 'मैले यहीँबाट रालो खसेको देखेको थिएँ,' लामिछानेले भने, 'त्यो क्लीन स्वीपको संकेत हो।'

यसअघि माघ दोस्रो साता रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका क्रममा सोही क्षेत्रमा पुगेका थिए। कार्यक्रममा घण्टी बजाउँदा रालोसहित डोरी चुँडिएको घटनालाई रास्वपाले शुभ संकेतका रूपमा व्याख्या गर्दै आएको छ।

लामिछानेले २१ गतेको दिन विशेष महत्व बोकेको उल्लेख गर्दै यसअघि आफ्ना २१ जना सांसदलाई संसदबाट जबर्जस्ती हटाइएको आरोप दोहोर्याए। उनले त्यसको जवाफ जनताले २१ गते मतमार्फत दिने विश्वास व्यक्त गरे।

रास्वपाले कञ्चनपुर–२ मा उत्साहजनक जनसमर्थन पाएको दाबी गर्दै चुनावी माहोल आफ्नो पक्षमा मजबुत बन्दै गएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस