पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
काठमाडौँः महाशिवरात्रिको दिन पशुपति क्षेत्रको सुरक्षा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा २५ वर्षीय रिजन श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार नियन्त्रणमा लिएको छ। रिजन मकवानपुर स्थायी घर भएका हुन् र हाल काठमाडौँको चागलमा बस्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले युवक पक्राउ परेकामा पुष्टि गरेका छन्। शिवरात्रिको दिनको घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती युवकको खोजी तीव्र बनाएको थियो।
प्रहरीले मंगलबार भाइरल भिडिओको स्क्रिनशट सार्वजनिक गर्दै सर्वसाधारणसँग पहिचान गरिदिन अनुरोध गरेको थियो। सो आधारमा युवकको पहिचान खुलेपछि उनलाई बुधबार नियन्त्रणमा लिइएको हो। प्रहरीले अनुसन्धानमा केही ढिलाइ भएको स्वीकार गर्दै अब थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।