कैलालीका १२६ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन
धनगढीः कैलाली जिल्लाका १२६ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गरिएको छ। मत खसाल्ने सही तरिकाबारे जानकारी गराउन प्रत्येक वडामा एक/एक जना गरी १२६ जना मतदाता शिक्षा स्वयंसेवक खटिएका हुन्।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ। स्वयंसेवकहरूले लक्ष्य निर्धारण गरी घरदैलो कार्यक्रममार्फत मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी दिइरहेका छन्। उनीहरूले मत सदर र बदर हुने अवस्थाबारे समेत स्पष्ट पार्दै नमुना मतपत्रको प्रयोगबाट अभ्यास गराइरहेका छन्।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार प्रत्येक वडामा खटिएका स्वयंसेवकले मतदातालाई सही ढंगले मत खसाल्न सिकाइरहेका छन्। मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयंसेविका तथा सामाजिक परिचालकजस्ता क्षेत्रमा कार्यरत महिलालाई प्राथमिकताका साथ छनोट गरिएको छ।
कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा दुई लाख ८० हजार २४३ महिला र दुई लाख ७९ हजार ७९८ पुरुष गरी कुल पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन्।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन प्रत्येक पालिकामा अधिकृतस्तरका एक/एक जना अनुगमनकर्ता ९सम्पर्क व्यक्ति० तोकिएका छन्। उनीहरूले स्वयंसेवकहरूको परिचालन तथा अनुगमनको जिम्मेवारी सम्हालिरहेका छन्।