कैलारीमा सवारी दुर्घटना: वडा अध्यक्ष घाइते, मोटरसाइकल चालकको मृत्यु
धनगढीः कैलालीको कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ईप्सा चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्र बमले चलाएको भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी कैलारी गाउँपालिका–५ निवासी करिब ३५ वर्षीया ईप्सा चौधरीलाई तत्काल उपचारका लागि धनगढी ल्याइएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनामा गाडी चालक ४० वर्षीय दिपेन्द्र बमको मुखमा चोट लागेको छ। गाडीमा सवार ५० वर्षीय तारा चौधरीको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको छ भने ३४ वर्षीय बलिराम चौधरीको शरीर र बायाँ हातमा चोट लागेको छ। त्यसैगरी ३१ वर्षीय कमलेस चौधरीको बायाँ खुट्टामा चोट लागेको बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।