सुदूरपश्चिममा नेकपा (बहुमत) द्वारा आह्वान गरिएको बन्दको सामान्य प्रभाव
धनगढीः सुदूरपश्चिममा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) द्वारा आह्वान गरिएको बन्दका सामान्य प्रभाव परेको छ । सडकमा सवारी साधन सञ्चालन भएपनि धनगढीका अधिकांश निजी विद्यालयले पठनपाठन स्थगित गरेका छन ।
विद्यालयहरूले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएका छन् । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीले सूचना जारी गर्दै उत्पन्न परिस्थितिलाई मध्यजर गर्दै एक दिनका लागि पठनपाठन स्थगित गरेको जनाएको छ ।
यस्तै एश्वर्या विद्या निकेतनले पनि विद्यालय बन्द भएको जानकारी दिएको छ । ग्यालेक्सी बोर्डिङ, एलाइन्स, स्टिफन, इ–चाइल्ड लगायत अधिकांश विद्यालय मंगलबार बन्द रहेका छन् । केही विद्यालयले मंगलबार विद्यालयमा पुगिसकेका विद्यार्थीलाई पनि बन्द भन्दै फर्काएका छन् ।
निजी विद्यालयहरुले असुरक्षाको कारण देखाए पनि धनगढीका केही सामुदायिक विद्यालय भने सञ्चालनमा रहेका छन् । धनगढीको त्रिनगर माध्यामिक विद्यालयले नियमित कक्षा संचालन भइरहेको जनाएको छ । विद्यालय मात्र होइन नेपाल बन्दको हल्लाले यात्रु पनि अस्तव्यस्त भएका थिए ।
यद्दपी यातायात क्षेत्रमा भने बन्दको प्रभाव नपरेको प्रहरीले जनाएको छ । छोटो तथा लामो दूरीका सवारी साधन नियमित रूपमा सञ्चालनमा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता पदम बिष्टका अनुसार हालसम्म कुनै अप्रिय घटना घटेको छैन ।
बन्दकर्ताहरूले फागुन २१ को निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपविरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा संवैधानिक संयुक्त सरकार गठनको मार्ग अघि बढाउनुपर्ने माग राख्दै बन्दको घोषणा गरेका हुन् ।