प्रतिनिधिसभा निर्वाचन: आजदेखि औपचारिक प्रचारप्रसार सुरु
काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ। मतदान हुनुभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने कानुनी व्यवस्था अनुसार आजबाट फागुन १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचार गर्न सक्नेछन्।
निर्वाचन आयोग नेपाल ले निर्वाचनको निष्पक्षता र विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। आयोगका अनुसार तोकिएको सीमाभित्र रहेर उम्मेदवारहरूले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउनेछन्।
आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिएको जनाउँदै आयोगले उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाउने स्पष्ट पारेको छ। आचारसंहिता दल तथा सरोकारवाला पक्षहरूसँग व्यापक छलफलपछि तयार गरिएको र सबै दलले यसको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलताको नीति अपनाइएको जानकारी दिए। उल्लङ्घन पुष्टि भएमा सचेत गराउने, जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्मको व्यवस्था रहेको उनले बताए।
यस अवधिमा दल र उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गरेर प्रचारप्रसार गर्न सक्नेछन्। आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च निर्माण लगायतका खर्चको विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचन अवधिमा कुनै दल वा उम्मेदवारविरुद्ध सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ। यस्तो गतिविधि निर्वाचनको निष्पक्षतामा असर पार्ने भएकाले कडाइका साथ निगरानी गरिने जनाइएको छ।