बैतडीकोमा २२ फिट अग्लो शिव मूर्ति स्थापना
बैतडी: बैतडीको पाटन नगरपालिका–८ स्थित खोड्पे शिवालयमा २२ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गरिएको छ। कुल ६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त मूर्तिमा वडा कार्यालयले ३ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ।
वडा नं. ८ का अध्यक्ष हरिश बिष्टका अनुसार बाँकी रकम श्रद्धालुहरूबाट चन्दा संकलन गरी व्यवस्थापन गरिनेछ। स्थानीयवासीहरूको अगाध आस्था केन्द्र रहेको यस शिवालयमा प्रत्येक वर्ष महाशिवरात्रिको अवसरमा ठूलो मेला लाग्ने गर्दछ।
महाशिवरात्रि मेलालाई मर्यादित र व्यवस्थित बनाउन मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मेलामा कसैले मदिरा बिक्री वा सेवन गरेको पाइएमा तीन हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था गरिएको वडा अध्यक्ष बिष्टले जानकारी दिए।