सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटनाको अनुसन्धान गर्न राज्य उदासीन!

२०८२ फाल्गुन २, ०६:५५ नारायण अवस्थी

बैतडीः माघ २३ गते बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित वडूगाउँ घुम्तीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो।

बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ फर्किरहेको बस माघ २३ गते अपराह्न साढे सातमा दुर्घटनामा परेको थियो। जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो।

बैतडी प्रहरीले दुर्घटनामा १८ महिला र २७ पुरुष गरी जम्मा ४५ जना घाइतेको उद्धार गरेको थियो। घाइतेहरूलाई तत्काल उपचारका लागि कोटिला स्वास्थ्य चौकी पठाइएको थियो, गम्भीर घाइतेलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको थियो।

दुर्घटनामा परेर घटनास्थलमै तथा उपचारको क्रममा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णु दत्त जोशी, ४२ वर्षीय नरेन्द्रराज जोशी, बझाङकै केदारस्यु गाउँपालिका निवासी ६० वर्षीय मोहनदेव भट्ट र जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी थिए।

यस्तै, गम्भीर घाइते भएका १८ वर्षीय विसनदत्त जोशी, २७ वर्षीय दिपकराज जोशी, ४५ वर्षीय किसनदत्त जोशी, २८ वर्षीय दिपकराज जोशी  र १४ वर्षीय किशोर सुशील जोशीको ज्यान उपचारका लागि डडेल्धुरा अस्पताल ल्याउने क्रममा बाटोमै भएको थियो।

भयानक बस दुर्घटनामा घटनास्थलमै ६ जनाको, कोटिला स्वास्थ्य चौकीमा दुई जना तथा डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा थप ५ जनाको ज्यान गएको हो।

घाइतेलाई स्कुल बसमा ओसारियो
बैतडी बस दुर्घटनामा घाइतेहरूलाई प्रहरी र स्थानीयले तुरुन्तै उद्दार गरेका थिए। अध्यारोका कारण उद्दार कार्यमा केही कठिनाइ भए पनि जेनतेन मृतक र घाइतेलाई घटनास्थलबाट स्वास्थ्य चौकीसम्म ल्याउने काम भएको उद्दारमा खटिएका धर्मराज अवस्थीले बताए। घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लैजान भने समस्या भएको अवस्थीले बताए।

दुर्घटनामा घाइते भएका ४५ जना र उनीहरूसँग हेरचाहका लागि आउने सबैलाई एक नगरपालिकाको एक एम्कुलेन्स, वडा नम्बर ७ का अध्यक्ष धिरेन्द्रबहादुर बम र धर्मराज अवस्थीको बोलेरो जिप तथा डिलेश्वरी माध्यमिक विद्यालयको बसमा डडेल्धुरा अस्पताल ल्याइएको उद्दारमा खटिएका तथा पुर्चौडी बहुमुखी क्याम्पसका उपप्राध्यापक गोविन्दप्रसाद अवस्थीले बताए। गम्भीर बिरामीलाई अलग्गै एम्बुलेन्समा अस्पताल पुगाउन सकेको भए उनीहरूको ज्यान बच्ने थियो कि भन्ने आफूलाई लागि रहेको उपप्राध्यापक अवस्थीको भनाइ छ।

'गम्भीर घाइते भएका पाँचै जना बाटोमा कुराकानी गरिरहेका भए पनि अस्पताल नपुग्दै उनीहरूले ज्यान गुमाएका थिए। चोटपट ठुलै थियो तर उहाँहरू बोली रहनु भएको थियो, हामीले बचाउन सकिन्छ भन्ने ठानेका थियौँ तर अस्पताल नपुग्दै पाँचै जना बिते,' उनले भने, 'सुविधा सम्पन्न एम्बुलेन्समा ल्याउन पाएको भए ज्यान बच्थ्यो कि?'

एम्बुलेन्स अभावले घाइतेहरूलाई स्कुल बसमा ल्याउनु परेको पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बमले बताए। उनले नगरपालिकासँग एक मात्रै एम्बुलेन्स भएकाले स्कुल बस प्रयोग गर्नु परेको बताए।

ब्रिटेनको ब्रिस्टोलस्थित वेस्ट इंग्ल्यान्ड विश्वविद्यालका अनुसन्धानकर्ता पुष्पराज पन्त (विद्यावारिधि) ले बिरामी र घाइते बोक्न समयमै एम्बुलेन्सकै प्रयोग गर्न सके घाइतेहरूको ज्यान जाने जोखिम कम हुने बताए। उनले सडक क्षेत्रको बढीमा एक-एक घण्टाको दुरीमा एम्बुलेन्स तैनाथ हुनुपर्ने बताए। यसरी एम्बुलेन्स तैनाथ गरेर सही किसिमले घाइतेहरूलाई अस्पतालसम्म ल्याउन सके ४० प्रतिशत घाइते बाच्ने सम्भावना रहने पन्तले बताए।

पन्तका अनुसार घाइतेलाई अस्पताल ल्याउँदा रक्तस्राव बढी भएर, भाँचिएको करङले मुटु र फोक्सो छेडेरसमेत ज्यान ज्याने जोखिम हुन्छ। त्यस्तो जोखिम कम गर्न राज्यले सडक क्षेत्रमा कम्तिमा आधा घण्टा तथा बढीमा एक घण्टाको दुरीमा एम्बुलेन्स तैनाथ गर्नुपर्ने पन्तले बताए।

दुर्घटनामा उद्दारमा खटिएका पुर्चौडी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले पाँच जना मध्ये तीन जनाको अवस्था निकै नाजुक रहेको बताए। उनका अनुसार घाइतेलाई सम्हालेर अस्पतालसम्म जाने मान्छेको अभाव भएको बताए।

'चार सवारी साधनमा ४५ जना घाइतेहरूलाई डडेल्धुरा पठाउनुपर्ने भयो तर उनीहरूसँग जाने मान्छे नै भइदिएनन्। हरेक बिरामीलाई टेको दिएर अस्पतालसम्म पुगाउनुपर्ने अवस्था थियो तर त्यसो गर्न सकिएन,' उनले भने, 'डडेल्धुरा अस्पताल लैजाने क्रममा ज्यान गुमाएका दुई जनाको अवस्था त्यति खराब थिएन तर उहाँहरूको पनि बाटीमै ज्यान गयो।'

उद्दार गर्न ठूलो भिड, अस्पताल ल्याउने मान्छे नै भेटिएनन्!
बस दुर्घटना लगत्तै घटनास्थलमा निकै धेरै मान्छे जम्मा भएर उद्दारमा खटिए पनि घाइतेहरूलाई अस्पताल लैजान समस्या भएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए। घटनास्थलमा चुनाव प्रचारप्रसारमा रहेका राजनीतिक दलका नेता र कार्यकर्ता पुगेँ पनि घाइतेहरूलाई अस्पताल लग्न कोही तयार नभएको घटनामा सामान्य घाइते भएकाहरूले बताएका छन्।

एक घाइतेसँग एक जना मान्छे हुनुपर्नेमा बडूगाउँ, अवस्थी गाउँ, भवने र हाटका केही व्यक्ति मात्रै घाइते लगेर अस्पताल जान तयार भएका थिए। दुर्घटना भएको पाँच घण्टापछि मात्रै घाइतेहरूलाई डडेल्धुरा अस्पताल पुगाउन सकिएको हो। उद्दार र घाइते ओसार्ने सरकारी संयन्त्र भएको भए घाइतेहरूलाई छिटै अस्पतालसम्म पुगाउन सकिने अनुसन्धानकर्ता पुष्पराज पन्तले बताए।

बस दुर्घटनाको अनुसन्धान गर्न राज्य उदासीन
फागुन २ गते बस दुर्घटना भएको ९ दिन पूरा भएको छ। धेरैले उक्त घटना भएको बिर्सिसकेका होलान् भने मुलुकमा उहीँ प्रकृतिका थप बस दुर्घटनाका घटना घटेका छन्। यो समाचार तयार गर्दासम्म बस दुर्घटनाको छानबिन गर्न कुनै समिति गठन भएको छैन। जिल्ला प्रहरी कार्यालय बैतडीले दुर्घटनाको अनुसन्धान गर्न कुनै समिति गठन नभएको बताएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाउने काम भएको जनाएको छ।

आन्तरिक मामिला हेर्ने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले समेत बैतडी बस दुर्घटनाको अनुसन्धान गर्नुपर्ने आवश्यकता नदेखेको पाइएको छ। आन्तरिक मामिला मन्त्री हिरा सार्कीले प्रदेश सरकारले राहत दिने निर्णय गरेको तर घटनाको अनुसन्धान गर्न कुनै समिति गठन नभएको बताए।

उनले राहत दिने निर्णय प्रदेश सरकारले गरेको तर छानबिन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको बताए। बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले भने प्रहरील  घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। उनले ट्राफिक प्रहरी, सडक विभागदेखि सरोकारवाला निकायसँग दुर्घटना न्यूनीकरण गर्न अपनाउनुपर्ने उपाय बारेसमेत सुझाव संकलन गरिरहेको बताए।

यस्तै, बैतडीको पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बमले पनि घटनाको अनुसन्धान गर्न समिति गठन भएको विषयमा जिल्लाबाट कुनै जानकारी प्राप्त नभएको बताए।  उनले बडूगाउँ घुम्तीलाई चौडा बनाउन र उक्त स्थानसहित सडकको अन्य भागमा ग्रेड मिलाउन बजेटको व्यवस्था गरेको जानकारी दिएका छन्। 'नगरपालिकाले सडक सुधार गर्न बजेटको व्यवस्था गरेको छ। बस दुर्घटना भएको घुम्तीलाई चौडा बनाउन र सडकको ग्रेड मलाउन रकमको व्यवस्था भएको छ,' उनले भने, 'नगर क्षेत्रका अन्य सडकका लागि समेत बजेट व्यवास्थापन गरेका छौँ।'

किन हुनुपर्छ घटनाको अनुसन्धान?
ब्रिटेनको ब्रिस्टोलस्थित वेस्ट इंग्ल्यान्ड विश्वविद्यालका अनुसन्धानकर्ता पुष्पराज पन्त (विद्यावारिधि) ले हरेक दुर्घटनाको राज्यस्तरबाट अनुसन्धान हुनुपर्ने बताएका छन्। नेपालमा सडक दुर्घटनाको अनुसन्धान नहुने र त्यसको यथार्थ तथ्याङ्कसमेत राख्ने भरपर्दो परिपाटी नभएको उल्लेख गर्दै अनुसन्धाकर्ता पन्तले सबै खाले दुर्घटनाको अनुसन्धान हुनुपर्ने कुरामा जोड दिएका छन्।

उनले भने, 'अनुसन्धान भयो भने तीन वटा फाइदा हुन्छ; दुर्घटना नदोहरियोस्, दोषी पत्ता लागोस् र घाइते र पीडितले न्याय पाओस् भनेर राज्यले अनुसन्धान गर्नैपर्ने हुन्छ।' उनले अगाडि थपेका छन्, 'नेपालमा घटनापछि पीडितलाई थोरै राहत दिएर पन्छिने परिपाटी रहेको छ, राहत दिनु भनेको बालुवा पानी हाल्नुजस्तै हो; अनुसन्धान भए हजारौंको ज्यान जनाबाट बचाउन सकिन्छ।'

प्रदेश सरकारले दुर्घटना न्यूनीकरणमा मात्रै होइन घटनालगत्तै उद्दार र अनुसन्धानका लागि सक्रियता देखाउनुपर्नेमा आन्तिरक मामिला मन्त्री नै छानबिन समितिको गठन भएको बारे अनविज्ञ रहेको पाइएको छ। आन्तरिक मामिला मन्त्रीले घटनाको निरन्तर रिपोर्टिङ लिइरहनुपर्नेमा उनी प्रदेश प्रहरीले गठन गरेको समितिबारै नै अनविज्ञ रहेको पाइयो। यता प्रदेश प्रहरी कार्यालय धनगढीले भने घटना लगत्तै प्रहरी उपरीक्षक सागर बोहराको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान तथा छानबिन समिति गठन भएको जनाएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस