सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेना गौरवको प्रतीक हो : प्रदेश प्रमुुख मियाँ

२०८२ फाल्गुन २, ०५:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नेपाली सेना  जनताको विश्वास, राष्ट्रको ढाल र गौरवको प्रतीक रहेको बताएका छन्। 

नेपाली सेना दिवसको अवसरमा आज धनगढीमा आयोजित एकता दौडको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। प्रदेश प्रमुख मियाँले गौरवशाली इतिहास भएको नेपाली सेनाले राष्ट्रलाई पर्न आउने विभिन्न विपत्तिमा जनताहरुको जनधनको क्षति हुनबाट बचाउन सहयोग गर्दै आएको उल्लेख गरे। 

“जनतालाई नै केन्द्रबिन्दुमा राखेर राष्ट्रका कुनाकाप्चामा जनहितको कार्य गर्दै आएको छ”, उनले भने, “आफ्नो ज्यानको परवाह नगरी जनरक्षाका लागि नेपाली सेना निरन्तर खटिरहेको छ ।”

नेपाली सेनाले राष्ट्रको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको प्रदेश प्रमुख मियाँको ठम्याई छ । उनले देशको सार्वभौमसत्ता र अखण्डताको रक्षा, विपद् व्यवस्थापन, शान्ति व्यवस्थापन र राष्ट्रिय विकासमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गरे।

बहुल एकता र सुरक्षित राष्ट्रको भावनालाई आत्मसात गर्दै प्रदेश स्तरमा आयोजना गरिएको एकता दौडले सुदूरपश्चिम प्रदेशका जनतालाई नेपाली सेनाको बारेमा अझै नजिकबाट जान्ने बुझ्ने अवसर प्रदान गरेको मियाँको भनाइ छ । उनले एकता दौड केवल मनोरञ्जनमात्र नभइ राष्ट्रिय एकताको प्रतीक रहेको उल्लेख गरे। यसले जनतालाई एकसाथ अघि बढ्ने प्रेरणा दिएको प्रदेश प्रमुख मियाँले बताए। 

एकता दौडले विशेष गरी विद्यार्थी तथा युवाहरुलाई नेपाली सेनाको गौरवशाली योगदानबारे बुझ्न र अपनत्व अनुभव गर्न सहज वातावरण प्रदान गरेको उनको भनाइ थियो । 

“यसले भविष्यका पुस्तामा सेनाप्रति सम्मान, गर्व र प्रेरणा जगाएको छ”, मियाँले थपे, “जेनजी आन्दोलनको संवेदनशील कालखण्डमा नेपाली सेनाले राष्ट्रलाई सामान्य अवस्थामा फर्काउन, शान्ति र सुव्यवस्था कायम गर्न, नागरिक सुरक्षालाई पुनःस्थापित गर्न तथा राष्ट्रिय एकता पुनः सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।”

नेपाली सेनाको संयमित उपस्थिति र जनतासँगको सहकार्यले समाजलाई पुनः शान्ति मार्गमा फर्काएको प्रदेश प्रमुख मियाँको भनाइ थियो । उनले नेपाली सेनाको अनुशासित उपस्थिति र जनतासंगको सहकार्यले समाजलाई पनः शान्तिपूर्ण मार्गमा फर्काएको बताए। प्रदेश प्रमुख मियाँले सेना दिवसको अवसरमा नेपाली सेना तथा सङ्गठनमा कार्यरत सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई दिदैं उज्ज्वल भविष्यको कामनासहित शुभकामना व्यक्त गरे। 

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, सरकारी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
 

कमेन्ट लोड गर्नुस