सीप तथा रोजगार मेलामा जोरायलको अर्ग्यानिक उत्पादनको आकर्षक बिक्री
धनगढी: कैलालीको धनगढीमा माघ ५ गतेदेखि सुरु भएको सीप तथा रोजगार मेलामा सुदूरपश्चिमका अर्ग्यानिक उत्पादनको बिक्रीसमेत भइरहेको छ। मेलामा जोरायल गाउँपालिकाको सहकार्यमा जैविक विविधता संरक्षण कृषि सहकारी संस्थाले जोरायलमा उत्पादन भएका अर्ग्यानिक कृषि उपज राखेको स्टल सञ्चालनमा ल्याएको हो।
जोरायल गाउँपालिकाको कृषि शाखाका प्राविधिक चन्द्रबहादुर सार्कीका अनुसार मेला उद्घाटनदेखि नै जोरायलका उत्पादन स्टलमार्फत बिक्री हुँदै आएका छन्। स्टलमा जोरायल बासमती चामल, मार्सी चामल, बदाम, लोकल सिमी, कोदो, मकै, जौको पिठो, कागती, अदुवा लगायतका कृषि उपज राखिएका छन्।
बजार मूल्यभन्दा सस्तो भएकाले ग्राहकको आकर्षण बढेको र दैनिक १० देखि १५ हजार रुपैयाँ बराबरका कृषि उपज बिक्री भइरहेको सार्कीले बताए। उनका अनुसार जोरायल बासमती, कोदोको पिठो, मकैको पिठो, बदाम र अदुवाको माग बढी छ।
सार्कीका अनुसार जोरायल गाउँपालिकाका वडा नं. ३ र ४ मा बासमती चामल, वडा नं. १ र २ मा तरकारी, वडा नं. ५ र ६ मा मह तथा अन्य क्षेत्रमा तरकारी, मसला बाली र फलफूल उत्पादन हुँदै आएका छन्।