सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिवसीय कार्यशाला सम्पन्न

२०८२ फाल्गुन १, १२:३५ खबर संवाददाता

काठमाडौं: काठमाडौं उपत्यकामा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्बन्धी एकदिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित उक्त कार्यक्रम प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा बिहीबार सम्पन्न भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा तथा नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ ९नाइमा० को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षामा कुनै एक निकायको मात्र नभई सडक प्रयोगकर्ता, सडक विभाग, यातायात व्यवस्था विभाग, सवारी साधन धनी, यातायात व्यवसायीलगायत सबै सरोकारवाला पक्षको साझा जिम्मेवारी र दायित्व रहने उल्लेख गरे। सडक प्रयोगकर्ताले स्वयं ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिँदै उनले सडक सुरक्षाका लागि आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताए।

ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै कार्कीले ट्राफिक प्रहरीको व्यावसायिक क्षमता, विश्लेषणात्मक सोच, निर्णय तथा नेतृत्व क्षमता अभिवृद्धिमा यस्ता गोष्ठीले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, ट्राफिक प्रहरीको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सडक यातायात शिक्षा प्रतिष्ठानका अध्यक्ष डा. रोहित बालूजा र नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले कार्यशालाको औचित्यमाथि मन्तव्य व्यक्त गरेका थिए। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले क्षमता अभिवृद्धि तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यशालाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले गरेका थिए। कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारी, सडक विभाग, वातावरण विभाग, सडक सुरक्षा परिषद् तथा काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरूले समेत सडक सुरक्षा र ट्राफिक व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण दिएका थिए।

गोष्ठीको मुख्य उद्देश्य काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक अवस्था र सडक सुरक्षासम्बन्धी चुनौतीहरूको तथ्यमा आधारित विश्लेषण गर्नु, नीतिगत सुधार तथा प्रविधिमैत्री प्रणाली विकासका लागि साझा दृष्टिकोण निर्माण गर्नु, तथा सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्नु रहेको आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस