सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा फरार रहेका चार प्रतिवादी पक्राउ

२०८२ फाल्गुन १, ०७:५५ खबर संवाददाता

कञ्चनपुर: जिल्ला अदालत कञ्चनपुरबाट विभिन्न मितिमा कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत हिजो जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ६ महिना कैद सजाय र रु. ५ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ५० वर्षीय खडक बहादुर पुजारा रहेका छन्।

त्यस्तै, लागूऔषध (चरेश) मुद्दामा १ वर्ष कैद सजाय र रु. २० हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–६ बस्ने ५८ वर्षीय शिवराज भट्ट पनि पक्राउ परेका छन्।

यसैगरी, अभद्र व्यवहार मुद्दामा १ महिना कैद सजाय र रु. १ हजार जरिवाना तोकिएका बेदकोट नगरपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कुटपिट मुद्दामा १ वर्ष कैद सजाय र रु. १ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका–२ बस्ने ४६ वर्षीय शिव दत्त जोशीसमेत पक्राउ परेका छन्।

पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार पठाइने प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस