मुम्बई टुरमा डीसीएका रमित कार्कीको १३९ रनको शतकीय पारी
धनगढी: धनगढी क्रिकेट एकेडेमी (डीसीए)का युवा खेलाडी रमित कार्कीले मुम्बई भ्रमणअन्तर्गत तेस्रो खेलमा उत्कृष्ट शतकीय पारी खेलेका छन्।
मुम्बईको आजाद मैदानस्थित न्यू इरा पिचमा मारिया क्रिकेट एकेडेमीविरुद्ध भएको खेलमा कार्कीले ११५ बलमा १३९ रन बनाउँदै शानदार प्रदर्शन गरेका हुन्। उनको शतकीय योगदानको मद्दतले डीसीएले विपक्षी टोलीलाई २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो।
क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।
त्यसैगरी, टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रमसमेत रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।
यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको वातावरणमा खेल्ने अनुभव दिलाउनुका साथै सीप विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।