सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हवल्दार घर्ती हत्या प्रकरणः थप एक पक्राउ, तीन अझै फरार

२०८२ माघ २८, ११:५२ खबर संवाददाता

धनगढीः दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या घटनामा संलग्न रहेको आरोपमा फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यससँगै उक्त घटनामा पक्राउ पर्ने संख्या चार पुगेको छ भने अन्य तीन जना अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार राजेन्द्र डडाललाई मंगलबार साँझ जिल्ला सदरमुकाम क्षेत्रबाट पक्राउ गरिएको हो। उनीमाथि शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेको छ।

यसअघि प्रहरीले २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिसकेको थियो। घटनामा संलग्न रहेको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु र भाइ मनिस पाल भने अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बियर बारमा दिपिका पाललाई जिस्काएको विषयमा विवाद हुँदा आशिक पालले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेको र त्यसक्रममा उनको मृत्यु भएको खुलेको प्रहरीको दाबी छ। पक्राउ परेकाहरूको बयानमा आशिक र उनका भाइले कुटपिट गरेको उल्लेख गरिएको छ। यद्यपि घटनाको वास्तविकता सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुख्य अभियुक्त पक्राउ परेपछि घटनाको विस्तृत विवरण खुल्ने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस