सडक विस्तारले फेरियो धनगढीको स्वरुप
धनगढीः फुटपाथ र मिडियनसहित चार लेन सडक निर्माण भएपछि सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी बजारको स्वरुप फेरिएको छ।केही वर्ष अघिसम्म साँघुरो र अव्यवस्थित सडक रहेको धनगढीमा फराकिलो र सुविधा सम्पन्न सडक पूर्वाधार निर्माणले आवतजावतमा सहज मात्र भएको छैन, सहरी सौन्दर्य पनि बढेको छ।
मुख्यबजार क्षेत्रअन्तर्गत धनगढी चौराहादेखि क्याम्पस चोकसम्मै फुटपाथ, ढल निकास, मिडियन, सडक बत्तीसहितको चार लेन सडक निर्माण गरिएको छ। कैलाली पुलदेखि क्याम्पसचोकसम्मको खण्डमा सडक विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको छ। चौराहादेखि कैलाली नालासम्मको खण्ड भने यसअघि नै निर्माण सम्पन्न भएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारको ५३ करोड ८२ लाख ८३ हजार रुपैयाँ लगानीमा कैलाली पुलदेखि क्याम्पस चोकसम्म २.३५ किलोमिटर सडक कालोपत्रेको काम सकिएको छ। निर्माण कम्पनी केएस कन्स्ट्रक्सनले अहिले सडक मार्किङ गर्ने, रङरोगन गर्ने, जेब्राक्रसिङ बनाउने, पेन्टिङ गरेर साइकिल लेन छुट्याउने, केही ठाउँमा फुटपाथ बनाउने काम गरिरहेको छ।
पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख दिपक नेगीले भौतिक प्रगति ९७ प्रतिशत रहेको जानकारी दिए। ‘सडक विस्तारको काम लगभग सकिएको छ’ उनले भने, ‘रोड मार्किङलगायत फिनिसिङका केही काम भइरहेका छन्।’
आधुनिक सहरी पूर्वाधारअनुसार बनाइएको यो सडक दुवैतर्फ गरी १९ मिटर चौडाइमा कालोपत्र गरिएको छ। त्यसमध्ये साढे दुई मिटर साइकिल लेनका लागि रहेको पूर्वाधार कार्यालय प्रमुख नेगीले जानकारी दिए। चार लेन सडकबिचमा मिडियन राखिएको छ। ३.८० मिटर चौडाइको फुटपाथ तथा ढल निकासका लागि डेढ मिटर चौडा नाली निर्माण गरिएको छ। यो खण्डमा धनगढी उपमहानगरपालिकाले स्ट्रीट लाइट जडानको काम गरिरहेको छ।
मुख्यबजार क्षेत्रअन्तर्गत धनगढी चौराहादेखि कैलालीपुलसम्म १.३८ किलोमिटर चार लेन सडक एसियाली विकास बैंकको ऋण लगानीमा संघीय सरकारद्धारा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण गरिएको हो। यो खण्ड स्मार्ट स्ट्रिटलाइटले झिलिमिली छ भने मिडियनमा विरुवा लगाएर हरियाली प्रवर्धन गरिएको छ। मुख्यबजार क्षेत्रको दुवै खण्डको सडकमा रेलिङसहितको फुटपाथ छ। केही ठाउँमा उपमहानगरले शौचालयर र पार्किङ स्थलको व्यवस्था गरेको छ।
धनगढीका पुराना व्यवसायी मायाप्रकाश भट्ट आधुनिकर फराकिला सडक पूर्वाधार निर्माणले बजारको मुहारनै फेरिदिएको बताउँछन्। ‘केही वर्ष अघिसम्म साँघुरो, अव्यवस्थित र धुवाँ-धुलोयुक्त सडक थियो’ भट्टले भने, ‘अहिले बजार व्यवस्थित देखिएको छ।’ साइकिल लेन रहे पनि त्यसको पालना हुन नसकेको उल्लेख गर्दै उनले ट्राफिक प्रहरी, स्थानीय निकाय र प्रशासनले त्यसमा ध्यान दिनुपर्ने बताए।
बजार विस्तार हुँदै गएको धनगढी क्याम्पसचोकदेखि पूर्व तीन किलोमिटर सडक हुलाकी राजमार्गअन्तर्गत चार लेनमा निर्माण गरिएको छ। ढल निकास, मिडियन, फुटपाथ र स्मार्ट स्ट्रिट लाइटसहितको यो सडकले सहरी सुन्दरता थपेको स्थानीय बताउँछन्। त्यस्तै धनगढी-मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत चौराहामा मुख्यबजार क्षेत्र भएर ६ लेन सडक निर्माण गरिएको छ।
क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतनै क्याम्पसचोकदेखि कैलालीबहुमुखीक्याम्पससम्ममिडियन, स्मार्ट स्ट्रिटलाइट, फुटपाथसहितको चार लेन सडक बनेको छ। मुख्यबजारको वैकल्पिक सडकका रुपमा रहेको सहीदगेट–क्याम्पस रोड सडक तथा यही आयोजनाअन्तर्गत निर्माण गरिएको छ।आयोजनाअन्तर्गत पौने एक अर्ब रुपैयाँभन्दाबढीको लागतमा आधुनिक सहरी पूर्वाधारसहितको नगरभित्र १० किलोमिटर सडक निर्माण गरिएको थियो।
नगर प्रमुखगोपालहमालको सक्रियतामा कैलालीपुलदेखि क्याम्पस चोकसम्मको खण्डमा सडक विस्तारका क्रममाचार सय २८ भन्दाबढी संरचना भत्काइएका थिए। सडकको ३० मिटर क्षेत्राधिकार खाली गराउने उपमहानगरको अभियानमा अधिकांश स्थानीयले स्वतस्फूर्त संरचना हटाएर साथ दिएका थिए। अघिल्लो कार्यकालका जनप्रतिनिधिले क्षेत्राधिकार खाली गराउन अग्रसरता नदेखाउँदा चौराहा–कैलालीपुल खण्ड भने ३० मिटर क्षेत्राधिकार भए पनि २४ मिटर भित्र काम गरिएको थियो। जसले गर्दा कालोपत्रको चौडाइ अर्को खण्डको तुलनामा केही कम छ।
धनगढीमा कतिपय ग्रामीण र मुख्य बजारसँगै जोडिएका सडकहरु पनि कालोपत्र गरिएकाले सडक निर्माणमा केही परिवर्तन देखिएको स्थानीयको भनाइ छ। ‘परिपूर्ण भयो भन्ने होइन तर यहाँ सडक पूर्वाधार विकासले केही फड्को मारेको छ’धनगढीका स्थानीय प्रदिप चौधरीले भने, ‘गुणस्तरमा पनि उत्तीकै ध्यान दिनुपर्ने देखिन्छ।’ मुख्यबजारसँगै जोडिएका र ग्रामीण सडकहरु निर्माणलाई उपमहानगरले उच्च प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
उपमहानगरपालिकासँगै प्रदेश र संघीय सरकारले सडक पूर्वाधारमा लगानी गरेको छ। धनगढी उपमहानगरपालिकाको सहरी विकास तथा पूर्वाधार विकास महाशाखा प्रमुख दिजराजभट्टले मुख्यबजार क्षेत्रमा सहरी सौन्दर्यसँगै हरियाली प्रवर्धनलाई ध्यान दिइएको बताए। ‘ग्रामीण सडकहरुमा पनि विद्युत जडान गर्ने, छेउछाउमा बोटविरुवाहरु रोप्ने कामगरिरहेका छौँ’ उनले भने।