गौरीफन्टा नाकामा नेपालीसँग पैसा असुली अझै रोकिएन
धनगढी: भारतमा रोजगारी गरेर स्वदेश फर्कने नेपाली नागरिकसँग गौरीफन्टा नाकामा हुने अवैध असुली अझै रोकिएको छैन। नाकामा खटिएका भारतीय भन्सार कर्मचारीले सामान ल्याएको बहानामा नेपालीबाट रकम असुल्ने गरेको गुनासो निरन्तर आइरहेको छ।
भारतको नयाँदिल्लीबाट फर्किएका कैलालीको गोदावरी नगरपालिका– बाँस्कोटाका खेमराज ओझाले भारतीय भन्सार कर्मचारीलाई सय रुपैयाँ बुझाएर नेपाल प्रवेश गरेको बताए। “घरपरिवारका लागि लुगाकपडा ल्याएको थिएँ, सामानको पैसा लाग्छ भनियो,” उनले भने, “हामीसँगै आएका पाँच जनाबाटै सय–सय रुपैयाँ असुलियो।” दिल्लीमा होटलमा काम गर्दै आएका ओझा पारिवारिक कामका कारण घर फर्कन लागेको बताए।
स्वदेश फर्कने नेपालीहरूका अनुसार भारतीय भन्सार कर्मचारीले सडकछेउमा सिसा र आल्मुनियमबाट बनाइएको अस्थायी संरचनामा बोलाएर सामानको पोका हेरी डेढदेखि दुई सय भारतीय रुपैयाँसम्म माग्ने गरेका छन्। विशेष गरी चाडपर्वका समयमा स्वदेश फर्कनेको भिड बढ्दा यस्तो अवैध असुली झनै बढ्ने गरेको उनीहरूको भनाइ छ।
कञ्चनपुरको बेलडाँडीका राजेन्द्र रोकायाले पनि ओढ्ने–ओछ्याउने र छोराछोरीका लागि लुगाफाटो ल्याउँदा सय रुपैयाँ बुझाउनुपरेको गुनासो गरे। “लाइनमा आउँदै गर्दा सामान देखेर भित्र बोलाए र पैसा मागे,” उनले भने, “नदिए सामान जफत गरिदेलान् भन्ने डर लाग्यो।”
भारतबाट फर्कने अधिकांश नेपाली केही न केही सामग्री लिएर आउने भएकाले त्यही बहानामा अवैध रूपमा रकम असुल्ने गरिएको बताइन्छ। यद्यपि, चिनजान र पहुँच भएका केही व्यक्तिहरू भने पैसा नतिरेरै आउन सफल हुने गरेका छन्।
सुदूरपश्चिमेलीका लागि भारत रोजगारीको प्रमुख गन्तव्य मानिन्छ। यद्यपि सरकारी तथ्यांक यकिन नभए पनि हजारौँ नेपाली भारतमा रोजगारीमा रहेका छन्। सुदूरपश्चिमका प्रमुख नाका त्रिनगर र गड्डाचौकीमा चाडपर्वका समयमा स्वदेश फर्कने नेपालीको संख्या बढ्ने गरेको छ।
भारतको दिल्लीबाट फर्किएका कञ्चनपुरको बेलौरीका भीमबहादुर खत्रीले नाकामा अवैध असुलीको अवस्था अझै उस्तै रहेको बताए। “सामान देखेपछि पैसा माग्नु सामान्यजस्तै भइसकेको छ,” उनले भने, “सोझासाझा नेपालीबाट पैसा असुलिए पनि नेपाली सुरक्षाकर्मीले केही गर्न नसकेको देखिन्छ।”
यस विषयमा सशस्त्र प्रहरीको प्रस्तावित त्रिनगर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन कार्कीले भने हालसम्म भारतीय पक्षबाट पैसा असुलेको सम्बन्धमा नेपाली नागरिकबाट कुनै औपचारिक गुनासो नआएको बताए। उनका अनुसार हाल दैनिक डेढदेखि दुई सयसम्म नेपाली भारतबाट स्वदेश फर्किरहेका छन्। “विवाह, व्रतबन्ध र चुनाव नजिकिँदै जाँदा घर फर्कनेको संख्या बढेको हो,” उनले भने, “अप्ठेरो परेकालाई सहजीकरण गर्दै आएका छौँ।”