सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालेन शाहको घरमा चोरी गर्ने तीन जना पक्राउ

२०८२ माघ २५, ०४:१४ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाबाट चोरीका केही सामानसमेत बरामद गरिएको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले चप्पल कारखाना क्षेत्रमा रहेको सितादेवी गुरुङको घरमा भाडामा बस्दै आएका बालेन शाहको डेरा कोठामा चोरी गरेका थिए। मुख्य अभियुक्त विष्णुबहादुर राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो।

राजवाहकविरुद्ध यसअघि पनि चोरी र अन्य साधारण अपराधका मुद्दा चलेका थिए। उनी चोरीको कसुरमा ३ वर्ष ६ महिना कैद सजाय भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनको क्रममा २४ भदौमा नख्खु कारागारबाट फरार भएका थिए। फरार भएपछि उनी पाँचवटा चोरी घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका–२६ स्थित क्लासिक एण्ड लज इन गेस्ट हाउसमा बस्दै आएका राजवाहकको कोठाबाट वर्ल्डलिंक लेखिएको राउटर, दुई थान सीसी क्यामेरा, विभिन्न औजार तथा अन्य सामान बरामद गरिएको छ।

त्यस्तै खिमबहादुर खड्कालाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो। उनी बैंकिङ कसुर मुद्दामा फरार रहेको पाइएको छ। प्रहरीका अनुसार राजवाहकले चोरी गरेका सामानहरू खड्काले बिक्री गर्ने गरेको खुलेको छ। भक्तपुरको ठिमी नगरपालिका–दुवाकोटस्थित खड्काको घरबाट चाँदीका थाली, कचौरा, गहना तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

तेस्रो अभियुक्त सञ्जय श्रेष्ठलाई पनि २४ माघमै बालाजुबाट पक्राउ गरिएको हो। उनीविरुद्ध यसअघि जबरजस्ती करणीको कसुरमा मुद्दा चलेको तथ्य खुलेको प्रहरीको भनाइ छ। श्रेष्ठको धादिङस्थित कोठाबाट डेलको ल्यापटप, म्याकबुक प्रो, चार्जर, डीभीआरलगायतका सामग्री बरामद गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस