कैलाली-५ का एमाले उम्मेदवार ढुङ्गानाले गरे प्रतिबद्धता सार्वजनिक
धनगढी : कैलाली क्षेत्र नम्बर ५ का एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार यज्ञराज ढुङ्गानाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आफ्नो क्षेत्रका मतदातामाझ आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आईटी सेवा विस्तार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना अघि सारे ।
स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै निजी अस्पतालसम्म विस्तार गर्ने, सेती प्रादेशिक अस्पताललाई सङ्घीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने प्रतिबद्धता उनले जनाए । गेटामा सञ्चालनमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन र ६ सय शय्याको अस्पताल स्थापना गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।
त्यसैगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा, थारु समुदायमा देखिएको सिकलसेल लगायत दीर्घरोग उपचारका लागि विशेष वार्ड सञ्चालन गर्ने योजना रहेको छ ।
युवा लक्षित सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप कर्जाको दायरा विस्तार तथा “एक युवा, एक रोजगार” अभियानमार्फत पाँच वर्षमा कम्तीमा पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य ढुङ्गानाले प्रस्तुत गरेका छन् । औद्योगिकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने र श्रमिकको न्यूनतम ज्याला प्रभावकारी कार्यान्वयन गरिने उनले बताए ।
कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, खाद्य प्रशोधन उद्योग स्थापना तथा भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरणको कामलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख छ । पूर्वाधारतर्फ सडक, खानेपानी, खेलमैदान तथा सहरी विकासलाई प्राथमिकतामा राख्दै “एक घर, एक धारा” नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने बताइएको छ ।
सामाजिक न्यायअन्तर्गत दलित, महिला, थारु, जनजाति तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, भाषा र संस्कृतिको जगेर्ना, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सबै श्रमिकसम्म विस्तार गर्ने योजना रहेको छ ।
प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा नेकपा एमालेका नेता तथा क्षेत्र नम्बर ५ को निर्वाचन परिचालन मूल समिति संयोजक नारदमुनी रानाले राष्ट्रहीनको लागि एमालेले जित्न आवश्यक रहेको बताएका थिए ।