सुदूर नेपाललाई विश्वसँग जोड्दै

टी–२०  क्रिकेट विश्वकप आजदेखि उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै

२०८२ माघ २४, १२:४५ खबर संवाददाता

काठमाण्डौ: १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन्। यो खेल श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे शुरू हुनेछ।

आजै हुने दोस्रो खेलमा दिउँसो ३ः१५ बजे वेस्ट इन्डिज र स्कटल्याण्ड भारतको इडेन गार्डेन्स मैदानमा भिड्नेछन् भने तेस्रो खेलमा बेलुका ७ः१५ बजे आयोजक भारत र अमेरिका मुम्बईको वानखेडे स्टेडियममा आमनेसामने हुनेछन्।

यस विश्वकपमा नेपालले पनि सहभागिता जनाएको छ। नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले उसको स्थानमा स्कटल्याण्डलाई प्रतियोगितामा समावेश गरेको हो।

विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन्। समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान रहेका छन्। समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र इटाली छन्, जहाँ इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो।

समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स ९यूएई० र क्यानडा रहेका छन्। प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म सञ्चालन हुनेछ।

अहिलेसम्म छ राष्ट्रले टी–२० विश्वकपको उपाधि जितिसकेका छन्। भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजले दुई–दुई पटक उपाधि जित्दा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले एक–एक पटक उपाधि हात पारेका छन्।

कमेन्ट लोड गर्नुस