प्रधानन्यायाधीश राउतद्वारा नवनिर्मित बैतडी अदालत भवनको उद्घाटन
बैतडीः सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैतडी जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
शुक्रवार एक कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतले भवनको उद्घाटन गरेको बैतडी जिल्ला अदालतका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिए। प्रधान न्यायाधीश राउतले नयाँ भवन निर्माणसँगै न्यायिक तथा प्रशासनिक काम कारबाहीमा सहजता हुने बताए।
“उच्च नैतिकता र निष्ठापूर्वक काम गरेमा मात्र न्याय सेवा सरल र कम खर्चिलो हुनेछ”, उनले भने, “नवनिर्मित भवनबाट सञ्चालन हुने न्यायिक तथा प्रशासनिक काम कारबाही प्रभावकारी र सेवाग्राहीमैत्री वातावरण सुदृढ हुने र गर्दा सर्वसाधारण जनताको न्यायमा अझ पहुँच पुग्ने दृढ विश्वास छ।”
प्रन्या राउतले गत भदो २३ र २४ गते भएको अप्रत्यासित घटनाले देशका विभिन्न स्थानका २३ अदालत भवनमा ठूलो क्षति पुग्नुका साथै हजारौँ कम्प्युटर तथा अन्य सूचना प्रविधि सम्प्रेषण नष्ट भएकाले भौतिक पूर्वाधार विकास चुनौतीका रूपमा देखापरेको बताए। पाँचतले नवनिर्मित यो भवन निर्माण गर्न ११ करोड ३५ लाख खर्च भएको जिल्ला अदालत बैतडीले जनाएको छ।