धनगढीमा २ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप अभियान सञ्चालन हुने
धनगढीः धनगढी उपमहानगरपालिकामा आगामी माघ २७ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने भएको छ। महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त अभियानअन्तर्गत उपमहानगरपालिकाभित्रका २ हजार ३ सय ४० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार खोप अभियानका लागि कुल १ सय १३ वटा खोप केन्द्र स्थापना गरिनेछ। जसअन्तर्गत ९४ वटा विद्यालय र १९ वटा स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिनेछ। अभियानलाई प्रभावकारी बनाउन ६४ जना स्वास्थ्यकर्मी र ९४ जना स्वयंसेवक परिचालन गरिने उहाँले जानकारी दिए।
गत वर्ष धनगढी उपमहानगरपालिकामा लक्षित किशोरीमध्ये ९५ प्रतिशतले एचपिभी खोप लगाएको उल्लेख गर्दै यस वर्ष पनि सकेसम्म पूर्ण लक्ष्य हासिल गर्नुपर्नेमा उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले जोड दिएकी छन्। विद्यालय नजाने किशोरीहरूलाई घरमै पुगेर खोप लगाउने व्यवस्था मिलाउन उनले सुझाव दिएकी छन्। उपमहानगरपालिकाले खोप अभियानलाई सफल बनाउन अभिभावक, विद्यालय र सरोकारवाला निकायसँग सहकार्य गर्दै अभियानलाई व्यापक बनाउने तयारी गरेको जनाएको छ।