बस्ती जोगाउन बाजुराका ओलेनावासीकाे माग
बाजुराः बाजुराको बडीमालिका नगरपालिका–४, ओलेनावासीले बस्ती जोगाउँन उम्मेदवारलाई माग गरेका छन् । आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारहरू गाउँमा मत माग्न आएपछि उनीहरूले आफ्नो ओलेना बस्ती जोगाउन माग राख्ने गरेका हुन् ।
२०६७ सालदेखि ओलेना बस्ती बाढीपहिरोको निकै जोखिममा छ । यहाँ झण्डै १३ घरपरिवारको बसोवास छ । वर्खाको समय यो बस्तीका स्थानीयलाई कहाँ गएर बस्ने भन्ने चिन्ता हुन्छ । यही चिन्ता दुर गर्नका लागि यहाँका स्थानीयहरूले यती बेलाको चुनावमा गाउँमा मत माग्न आउने गरेका उम्मेदवारहरूलाई आफ्नो बस्ती जोगाउन माग राख्ने गरेका हुन् ।
साँफे–मार्तडी सडक अन्तर्गत पर्ने ओलना सडकको मुनी ओलेना बस्ती छ । यो बस्ती स्थानान्तरणका लागि धेरै नेतालाई हार गुहार गरेको भएपनि कतै देखि माग पूरा नभएको बडीमालिका नगरपालिका–४, रिलाका स्थानीय कमल नाथले बताए।
उनले भने, “यतिबेला उम्मेदवार गाउँमा आउने जाने गरेका छन् । हामीहरूले उनीहरूलाई पहिला बस्ती जोगाउने प्रतिबद्धता दिनु त्यसपछि मतदान गर्छु भन्ने गरेका छौं । ” स्थानीय प्रदेश र सङ्घीय सरकारसँग यो भन्दा पहिलामा धेरै कुरा गर्दै आए पनि बस्ती स्थानान्तरण गर्न भने अहिले सम्म कतै देखि सुनुवाई नभएका उनले बताए।
बस्ती जोगाउन वा घेरबारका लागि व्यवस्था गर्ने वा बस्ती स्थानान्तराण गर्नका लागि प्रतिबद्धता गर्नेलाई मतदान गर्ने मनाशय बनाएको नाथले बताए। उसो त बाजुराका १३५ भन्दाबढी बस्ती बाढीपहिरोको जोखिममा छन् । जिल्लाको पुर्वी उत्तर क्षेत्रमा पर्ने कर्णाली , दानसाँगु , विच्छ्या र तल्लो क्षेत्रका बुढीगङ्गा , भौनेरा राप्का सेलाघाट, बल्दे, सेरा र बार्जुगाड, बजेडी, मुस्तोला, डोगडी, पाटा र नाइना लगायतका बस्ती पहिरोको उच्च जोखिाम रहेका छन् ।
वर्खाको समय यी बस्तीका स्थानीयलाई खुला चौरमा त्रिपाल टाँगेर बसोवास गर्नु पर्ने बाध्यता छ । यस्तो समस्या हुँदा समेत पनि यी बस्ती अहिलेसम्म कतै स्थानान्तरणका लागि कुनै पहल गरिएको देखिँदैनन् ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराले ओलेना बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा पत्रचार गरेको जनाएको छ ।