सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेरो देश: कुर्सीको रेस

२०८२ माघ २१, ०३:५६ अनुभव भट्ट

शक्ति भ्रष्ट हुँदैन रे,
शक्ति त सत्तामा पुगेपछि
आफ्नो असली अनुहार देखाउँछ।
नेपालमा शक्ति
पहिले क्रान्ति गर्छ,
पछि गठबन्धन।

हामीले राजा फाल्यौँ,
ढुक्क भयौँ—
इतिहास जित्यौँ भनेर।
तर फालिएको त मुकुट मात्रै रहेछ,
सिंहासन चाहिँ
पार्टी कार्यालयमा सर्‍यो।

एउटा राजा गयो,
धेरै “महामहिम” आए।
कसैले जनयुद्ध जिते,
कसैले लोकतन्त्र जोगाए,
कसैले राष्ट्रवाद बचाए—
देश चाहिँ सबैको हातबाट
फिसलिरह्यो।

ओली बोले,
देश बलियो भयो—भाषणमा।
देउवा टिके,
लोकतन्त्र बच्यो—कार्यकालमा।
प्रचण्ड लडे,
शान्ति आयो—सम्झौतामा।
देश चाहिँ
सधैँ ‘अब बन्ने’ सूचीमा।

विचारधारा पहिले थियो,
अब अंकगणित छ।
सिट गन्ने राजनीति,
मन्त्रालय जोडघटाउ।
पार्टी फुट्छ,
फेरि जुट्छ—
सत्ता कहिल्यै फुट्दैन।

“म खलनायक बन्न चाहन्न”
भन्ने चाहना
सुन्दर छ।
तर इतिहास
चाहनाले होइन,
कर्मले लेखिन्छ।

ओली राष्ट्रवाद बोल्छन्,
कुर्सी नहल्लियोस् भनेर।
देउवा लोकतन्त्र जोगाउँछन्,
आफू टिकिरहून् भनेर।
प्रचण्ड क्रान्ति सम्झन्छन्,
तर कुर्सी छोड्न बिर्सन्छन्।


सिंहदरबारमा
एउटै खेल छ—
म्युजिकल चेयर।
संगीत बजाउने पनि उही,
कुर्सी घुमाउने पनि उही।

चुनावअघि विचारधारा,
जितेपछि गणित।
कतै एमाले,
कतै कांग्रेस,
कतै रास्वपा,
कतै माओवादी—
सत्ता चाहिँ सधैँ “म”वादी।


देश बनाउने नाममा
सबैले देश चलाए—
तर देश
कसैले चल्न दिएन।


त्यसैले
म रिसाउँदिन।
म हाँस्छु।
किनकि यहाँ
क्रान्ति थाकिसक्यो,
आक्रोश बूढो भयो,
र कुर्सी मात्र
अझै जवान छ।


इतिहास बोल्दैन।
तर उसले भुल्दैन।
उसले न भाषण गन्छ,
न पदको संख्या।
उसले त केवल
एक प्रश्न सोध्छ—

जब उठ्नुपर्ने थियो,
तिमी उठ्यौ
कि कुर्सी समातिरह्यौ?

 

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस