सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीमा स्वास्थ्य र पोषणको अवस्था नाजुक

तस्बिरः एकिन्द्र तिमिल्सेना
तस्बिरः एकिन्द्र तिमिल्सेना
२०८२ माघ २१, ०७:१४ खबर संवाददाता

टीकापुरः कैलालीको भजनी नगरपालिकामा शिक्षा, स्वास्थ्य र पोषणको अवस्था नाजुक देखिएको छ। नगरपालिकाको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो। 

भजनी नगरपालिकामा ३५ प्रतिशत प्रजनन उमेरका महिलामा रक्तअल्पता छ। जसका कारण वर्षेनी नौ प्रतिशतभन्दा बढी बालबालिकाहरू कम तौलको जन्मिरहेका छन्। ‘यस वर्ष दुई हजार ४२५ बच्चाको सर्भे गर्दा २१ बालबालिका एकदमै कुपोषित भएको र १८१ बालबालिका कुपोषित अवस्थामा रहेको पत्ता लागेको छ’ जनस्वास्थ्य निरीक्षक कैलाश डगौरा थारुले भने।

नगरपालिकाले स्वास्थ्य संस्थाहरूमा जनशक्ति व्यवस्थापनमा ठुलो रकम खर्च गरे पनि बालबालिका, किशोरी, गर्भवतीलाई लक्षित गरेर वर्षमा पाँच लाख रुपियाँ मात्रै बजेट विनियोजन भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख ऋजु चुकाहाका अनुसार यो नगरपालिका जिल्लामा सबैभन्दा बढी जन्मजात अपाङ्गता भएको पालिका हो। 

५३ हजार जनसङ्ख्या भएको भजनी नगरपालिकामा ९७६ जना परिचयपत्र प्राप्त अपाङ्गता भएका व्यक्ति रहेकोमा त्यसमध्ये करिब ५०० जति १८ वर्ष मूनिका छन्। ‘३०० जति बालबालिका विद्यालय जान्छन् बाँकी घरै बस्छन्’ चुकाहाले भन्नुभयो, ‘विद्यालय आएका बालबालिकाका लागि समावेशी शिक्षा दिन सकेको छैनौ, समुदायमा पनि वैकल्पिक सिकाइ केन्द्र नभएकाले बालबालिकाको सिकाइ न्यून छ।’ 

यहाँ अपाङ्गतासहित ८ प्रतिशत बालबालिका अझै पनि विद्यालय बाहिर छन् बालबालिकामा कुपोषण, रक्तअल्पता, अपाङ्गता, अभिभावकमा गरिबी र शिक्षामा लगानी कम हुँदा शिक्षाको गुणस्तर पनि कमजोर भएको जानकार बताउँछन्। ‘गत वर्ष कक्षा ५ को परीक्षामा ६४ प्रतिशत, कक्षा आठमा ५६ प्रतिशत र कक्षा १० मा पुग्दा १४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्’ शिक्षा अधिकृत पङ्खबहादुर शाह भन्छन्, ‘नगरपालिकामा ११ वटा माविमा जम्मा सात जना शिक्षकको मात्रै दरबन्दी छ।’ 

शिक्षक पदम शाही पालिकाको तल्लो तहमा शिक्षकको कमी नभएको, विषयगत शिक्षक दरबन्दी मिलान र नक्साङकन गरी अभिभावक शिक्षा लागू गरेर शिक्षा सुधार गर्न सकिने सुझाव दिन्छन्। नगर प्रमुख केवल चौधरीले विद्यालयमा बालबालिका पढ्ने वातावरण बनोस् भनेर निःशुल्क शिक्षा लगायत धेरै लगानी गरे पनि नतिजा सुधार नभएकोमा आफू चिन्तित भएको बताए। 

कमेन्ट लोड गर्नुस