सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–५ मा काँग्रेस उम्मेदवार शाहको चुनावी प्रतिवद्धताः जनसेवा र सुशासनको अठोट

२०८२ माघ २०, ०४:२० नारायण अवस्थी

धनगढीः कैलाली-५ मा काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरनारायण शाहले चुनावी प्रतिवद्धता-पत्र सार्वजनिक गरेका छन्। मङ्गलवार धनगढीमा उम्मेदवार शाहले प्रतिवद्धता-पत्र सार्वजनिक गरेका हुन्।

निर्वाचन परिचालन समिति क्षेत्र नम्बर-५ को धनगढीस्थित कार्यालयमा शाहले आफ्नो चुनावी प्रतिवद्धता-पत्र सार्वजनिक गर्दै आफूले गर्नसक्ने काम इमानदारी पूर्वग गर्ने बताएका छन्। उनले संविधानमा उल्लेख भए वमोजिम सङ्घ, प्रदेश र स्थानीयसँग समन्वय, सहकार्य, सहअस्तित्व र सहभागिताको मूल मर्म तथा निजी क्षेत्रसँगको समन्वयमा यस क्षेत्रलाई समुन्नत, समृद्ध र अवसरयुक्त क्षेत्रका रुपमा विकास गर्न पहल गर्ने बताएका छन्।

उम्मेदवार शाहले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रण गर्दै निर्वाचित भए सदैव जनताको सेवामा काम गर्ने बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, आर्थिक विकास युवा स्वरोजगार, पर्यटन र खेलकुदको क्षेत्रमा आफू निर्वाचित भए गर्ने कामको प्रतिवद्धता-पत्र मार्फत सार्वजनिक गरेका छन्।

कैलाली-५ का मतदाताले निर्वाचित गराएमा काँग्रेस उम्मेदवार शाहले सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेश बनाउन प्रतिनिधि सभा र संसदका विभिन्न समितिमा आवश्यक नीतिगत, कानुनी र संरचनागत सुधार गर्न प्रभावकारी र सशक्त भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरेका छन्। उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय, फाप्ला क्रिकेट मैदान, महेन्द्र राजमार्गको स्तरोन्नति, त्रिनगर भन्सारको स्तरोन्नति, पञ्चेश्वर जलविद्युत आयोजना, सुक्खाबन्दरगाह, सेती अस्पतालको स्तरोन्नति, दैजीछेला औद्यौगिक क्षेत्र र सेती लोकमार्ग, महाकाली करिडोर लगयातको विकास आयोजना कार्यान्वयनका लागि प्रतिनिध सभामा सुदूरुपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूको ककस बनाएर जोडदार आवाज उठाउने शाहले प्रतिवद्धता-पत्रमा उल्लेख गरेका छन्।

काँग्रेस उम्मेदवार शाहले धनगढीमा आधुनिक सूचना प्रविधि पार्क स्थापना गरी युवाहरूलाई सूचना प्रविधि, डिजिटल सिप र स्टार्टअपसँग जोड्ने बताएका छन्। उनले धनगढीमा भारत सरकारको सहयोगमा स्थापना हुने भनिएको नेपाल इन्स्टिट्युट अफ टेक्नोलोजीका लागि जग्गा खोजेर पूर्वाधार निर्माण गर्न पहल गर्ने, जेन्जीको आवजलाई नीतिमा रुपान्तरण गर्न भूमिका खेल्ने बताएका छन्।

यस्तै, युवा स्वरोजगारका लागि तीनै तहका सरकारसँग मिलेर ठोस योजना ल्याउन प्रयास गर्ने तथा लागुपदार्थ दुर्व्यसनीको रोकथाम र न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसँग मिलेर अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

शाहले कृषि क्षेत्रको विकासका लागि सिँचाइको सुविधा विस्तार गर्ने, उर्मा, फूलवारी र कैलारीको वडा नम्बर ६ र ९ मा कृषि पकेट क्षेत्र विकास गर्ने, कृषि प्रविधि, बिउ र मलको उपलब्धता सुनिश्चित गर्दै कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने कार्यक्रम र योजना ल्याउन भूमिका खेल्ने बताएका छन्। यस्तै शीतभण्डार र डिजिटल हाटबजार विकास गर्ने शाहले उद्घोष गरेका छन्।

शाहले धनगढीमा अत्याधुनिक बसपार्क निर्माण गर्न पहल गर्ने, धनगढीको सहिदगेट, चौराहा, लक्ष्मीनारायण चोक र क्याम्पस चोकमा आकाशे पुल निर्माणको योजना ल्याउने घोषणा-पत्रमा उल्लेख गरेका छन्। यस्तै, धनगढीलाई आधुनिक सहरका रुपमा विकास गर्ने, मोहना, खुटिया शिवगङ्गा र घुराही नदीमा तटबन्धका योजना ल्याउने, चक्रपथ सडकको स्तरोन्नति गर्ने र कैलारीको घुराही नदीमा पक्की पुल निर्माणको योजना ल्याउने शाहले बताएका छन्।

यस्तै सबै वडामा खानेपानीको पहुँ विस्तार गर्ने र फोहरमैला प्रशोधन केन्द्र र ल्याण्डफिल साइटको प्रभावकारी सञ्चालन गर्न वजेट विनियोजन गर्न पहल गर्ने शाहले उल्लेख गरेका छन्।

प्रतिवद्धता-पत्रमा समावेशी समाज र सुशासन कायम गर्न काम गर्ने उल्लेख गरिएको छ। शाहले पर्यटन र सांस्कृतिक विकासका क्षेत्रमा समेत विभिन्न काम गर्ने भन्दै प्रतिवद्धता-पत्रमा उल्लेख गरेका छन्। उनले निर्वाचित भएमा प्रतिवद्धता-पत्रमा उल्लेख गरेका काम र योजनाका बारेमा जनताको अपेक्षा, सुझाव र सल्लाह लिनका लागि धनगढीमा सङ्घीय संसदको निर्वाचन क्षेत्र कार्यालय स्थापना गरी निरन्तर मतदाता र शुभेच्छुकसँग सम्बादमा रहने बताएका छन्।

 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस