ऐश्वर्य क्याम्पसमा आध्यात्मिक सेमिनार सम्पन्न
धनगढी: ऐश्वर्य बहुमुखी क्याम्पसमा एक दिने आध्यात्मिक सेमिनार आयोजना गरिएको छ। सोमवार सेमिनार आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा अमोल भाईजी सहभागी भई विद्यार्थीहरूलाई अध्यात्मको महत्व र जीवन निर्माणमा यसको भूमिकाबारे जानकारी गराएका थिए।
अमोल भाईजीले आफ्नो सम्बोधनमा अध्यात्म केवल पूजा–पाठमा सीमित नभई चरित्र निर्माण, विचारको शुद्धता तथा आचरणको मजबूतीको आधार भएको बताए। अध्यात्म शिक्षाबाट व्यक्तिमा सकारात्मक गुणहरूको विकास हुने र त्यसले समाज तथा राष्ट्रको उन्नतिमा योगदान पुग्ने उनले उल्लेख गरे।
उनले श्रीमद् भगवद् गीताका श्लोकमार्फत आधुनिक जीवनमा पनि गीताका सिद्धान्तहरू उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे। गीताले मानिसलाई कर्तव्यनिष्ठ, आत्मसंयमी र विवेकशील बनाउने उनको भनाइ थियो।
सेमिनारको मुख्य विषय “स्पिरिचुअलिटी भर्सेज साइन्स” रहेको थियो। वक्ताले अध्यात्म र विज्ञान एक–अर्काका विरोधी नभई पूरक भएको बताए। विज्ञानले बाह्य विकासको मार्ग देखाउने र अध्यात्मले आन्तरिक विकासमा सहयोग गर्ने भन्दै दुवैबीच सामञ्जस्य हुँदा जीवन सन्तुलित र सार्थक बन्ने धारणा राखे।
कार्यक्रममा विद्यार्थीहरूले गहिरो रुचि देखाएका थिए भने सेमिनारलाई ज्ञानवर्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। अन्त्यमा आयोजित प्रश्नोत्तर सत्रमार्फत विद्यार्थीहरूको जिज्ञासा समाधान गरिएको थियो।
यो सेमिनार विद्यार्थीहरूमा नैतिक मूल्य, आत्मबोध र जीवन दृष्टि विकास गर्ने दिशामा महत्वपूर्ण कदम भएको आयोजकले बताएका छन्।