प्रचारप्रसार अभियान ब्यापक बनाउने तयारीमा एमाले
धनगढी: नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन परिचालन कमिटी अन्तर्गत कैलालीका पाँच वटै निर्वाचन क्षेत्रका प्रायः सबै वडामा वडास्तरीय सम्पर्क कार्यालय सञ्चालनमा आएका छन् ।
अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घर घर जाने र एमालेमा मतदान गर्न सम्झाउने एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ ।
एमालेले वडा भेला गरी पार्टी कार्यकर्तालाई अब मतदाताका घरघर गएर पार्टीको पक्षमा मतदान गर्न प्रचारप्रसार अभियान ब्यापक गर्ने तयारी भइरहेको एमाले प्रदेश कमिटी सचिव रणबहादुर चन्दले बताए ।
उनले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का २१ वडामध्ये सोमबारसम्म १९ वटा वडामा सम्पर्क कार्यालय स्थापना गर्ने काम सम्पन्न भइसकेको बताए ।
यसैगरी कैलाली क्षेत्र नम्बर ४ भित्र रहेका ३० वटा वडामध्ये अधिकांश वडामा सम्पर्क कार्यालय स्थापना गरी सञ्चालनमा आएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव तथा पार्टी प्रचार विभाग प्रमुख भागरथी विष्टले जानकारी दिइन् ।
पाँच वटै निर्वाचन क्षेत्रका सबै वडामा वडा सम्पर्क कार्यालय स्थापनापश्चात निर्वाचन सम्बन्धी सम्पूर्ण गतिबिधि अघि बढाइने उनले बताइन् । पाँच वटै निर्वाचन क्षेत्रका सबै वडामा कार्यालय स्थापनापछि प्रचार प्रसार अभियान औपचारिक रुपमा सञ्चालन गरिने जनाइएको छ ।
पार्टीका वडा कमिटी संयोजक सहित प्रत्येक वडा अन्तर्गत भूगोलमा रहने पार्टी केन्द्रिय कमिटीका सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला र नगर कमिटी समेतका पदाधिकारी तथा सदस्यहरु रहने गरि जिम्मेवारी तोकिएको छ ।
यसैगरी सम्बन्धित वडामा रहने जनसंगठनका सबै पदाधिकारी तथा सदस्यहरु, अगुवा पार्टीका कार्यकर्ता बिज्ञ समेत रहेर कार्यालयमा दैनिक योजना तर्जुमा गरिने छ ।
कार्यालय मार्फत दैनिक पार्टीका कार्यक्रम घरदैलो वडा अन्तर्गत रहेका टोल कमिटीलाई समेत सहजिकरण गरिने छ । वडामा स्थापना गरिएका कार्यालय अन्तर्गत योजना तर्जुमा तयार गर्ने, त्यस क्षेत्रमा हुने पार्टीका सम्पूर्ण गतिबिधिको व्यवस्थापन गरि व्यवस्थित रुपले पार्टी प्रचार अभियानलाई ब्यापक बनाइने जनाइएको छ ।
यसैगरी सुदूरपश्चिमका पहाडी जिल्लामा एमालेका उम्मेदवारले एमालेको पक्षमा मतदान गर्न प्रचारप्रसार अभियानलाई ब्यापक बनाउँदै लगेको एमाले सुदूरपश्चिम प्रदेशले जनाएको छ ।