कैलाली-४ मा राप्रपाले चुनावी अभियान थाल्यो
धनगढी: राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी अभियान थालेको छ। सोमवार गौरीगङ्गामा पार्टीको सचिवालय उद्घाटन गर्दै राप्रपाले चुनावी अभियान थालेको हो।
कैलाली-४ मा राप्रपाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कमल रजवारले सचिवालयको उद्घाटन गरेका हुन्। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलाली(४ मा प्रत्यक्षतर्फ कमल बम रजवारलाई उम्मेदवार बनाएको छ। विद्यार्थी राजनीतिमा सक्रिय रहेका रजवारलाई पार्टीले यो पटक प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उतारेको हो।
त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका बम धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्ववियु सभापतिसमेत निर्वाचित भएका थिए। युवा तथा पढेलेखेको उम्मेदवारको रुपमा राप्रपाले बमलाई अगाडि सारेर चुनावमा जित हासिल गर्ने लक्ष्यका साथ घरदैलो सुरू गरेको बताइएको छ।